
सोमवार , बैशाख १५, २०८२
भालुबाङ, १५ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भालुबाङ अस्पतालको उद्घाटन गरेका छन् । उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्रस्तावित अस्पताल हुँदै भालुबाङ अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिएको हो ।
प्रस्तावित भालुबाङ अस्पतालले अस्पतालको रूपमा मान्यता पाएपछि सोमबार मुख्यमन्त्री आचार्यले उद्घाटन गरेका हुन् । मुख्यमन्त्री आचार्यले भालुबाङ अस्पताललाई विशिष्टीकृत अस्पतालको रूपमा प्रदेश सरकारले अघि बढाएको र जनशक्तिको व्यवस्थापनसहित गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गरिने बताए । दाङ, अर्घाखाँची, प्युठान, रोल्पा लगायतका जिल्लाका नागरिकले उपचार पाउने भरपर्दो अस्पतालको रूपमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।
त्यस्तै, मुख्यमन्त्री आचार्यले प्रदेश सरकार मातहत रहेका अस्पतालहरूबाट विशेषज्ञ उपचार सेवा प्रभावकारी रूपमा सञ्चालन गरिने बताए । अस्पतालहरूलाई पूर्वाधारसम्पन्न, विशेषज्ञ जनशक्तिको व्यवस्थापनसहित उपकरण र सेवा प्रवाहलाई चुस्त बनाउने गरी सरकार अघि बढेको उल्लेख गरे । दुर्गम क्षेत्रका अस्पतालहरूमा विशेषज्ञ डाक्टरको व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखिएको र सुगम क्षेत्रका अस्पतालमा थुप्रिएको जनशक्ति अन्य स्थानमा पठाउन सरकार लागिपरेको बताए ।
नयाँ विशेषज्ञ जनशक्ति भर्ना गर्न खोलिएको विज्ञापनमा अपेक्षित आवेदन नआएकोप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशमा आउने विशेषज्ञ चिकित्सकलाई सरकारले प्रोत्साहन गर्ने स्पष्ट पारे । ‘सुगम क्षेत्रका अस्पतालमा विशेषज्ञ जनशक्ति थुप्रिने तर अन्य अस्पतालहरूमा जनशक्ति नहुने अवस्थालाई अन्त्य गर्न चाहन्छौं’मुख्यमन्त्री आचार्यले भने–‘सरकारले यस्ता समस्यालाई गम्भीर रूपमा लिन्छ र सुधारका लागि पहल गर्छौं ।’
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न जरुरी रहेको बताए । प्रदेश सरकारले सुशासन, पारदर्शिता र भ्रष्टाचार निवारणमा ध्यान दिदै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले अस्पतालहरूमा विशेषज्ञ चिकित्सकको जनशक्ति व्यवस्थापनमा सरकारले विशेष ध्यान दिएको जानकारी दिए ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले यसअघि विशेषज्ञ सेवा लिन अन्यत्र जानुपर्ने बाध्यता रहेको र अब उक्त बाध्यता अन्त्य भएको बताए । साथै, अस्पतालको जग्गा प्राप्तिको विषयलाई छिटो टुंगोमा पु¥याउन जोड दिए ।
स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले भालुबाङ अस्पतालमा विशेषज्ञ उपचार सेवा विस्तार गरिएको जानकारी दिइन् । उनले भनिन्– ‘स्वास्थ्य संस्थामा जनशक्तिको व्यवस्थापनमा प्रदेश सरकारले ध्यान दिएको छ । गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्दै नवीन उपकरणहरूको प्रयोगमा ध्यान दिएका छौं । स्वास्थ्य संस्थाहरूलाई आत्मनिर्भर बनाउनेतर्फ पनि ध्यान दिन जरुरी छ ।’
स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रोशनलाल चौधरीले सबैको सहकार्य र योगदानको आधारमा अस्पतालको सेवा विस्तार गर्नुपर्नेमा जोड दिए । अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेण्ट डाक्टर आकाश बेल्वासेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा. रणबहादुर बोगटीले उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी हुँदै प्रस्तावित अस्पताल भएर भालुबाङ अस्पतालको रूपमा अगाडि बढेको जानकारी दिए । २०७८ सालमा प्रस्तावित अस्पतालको रूपमा स्वीकृत भइसकेको अस्पतालमा अहिले विशेषज्ञ सेवा विस्तार गरिएको हो ।
अस्पतालमा जटिल प्रसूति सेवा अन्तर्गत शल्यक्रिया गरिदै आएको छ । हालसम्म ५१ वटा जटिल प्रसूतिको शल्यक्रिया गरिएको छ । साथै, सर्जरी सेवा विस्तार गरिएको र अब रक्त सञ्चार केन्द्र आवश्यक रहेको जानकारी गराइएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij