२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

‘विद्युतीय सवारीसाधनलाई अवसरको रूपमा लिऔं’

सोमवार , बैशाख १५, २०८२

बुटवल, १५ वैशाख । पछिल्लो समय निकै चर्चाको विषय बनेको विद्युतीय सवारीसाधनलाई  चुनौति भन्दा अवसरको रूपमा लिनुपर्ने सरोकारवालाले बताएका छन् । बुटवल अटो इन्जिनियरिङ एशोसिएसन रुपन्देही लुम्बिनीको आयोजनामा बुटवलमा आयोजना भएको विद्युतीय सवारीसाधनका बारेमा कामदारहरुलाई क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन समारोहमा बोल्ने वक्ताहरूले उक्त कुरामा जोड दिएका हुन् । 

कार्यक्रममा बोल्दै पूर्वअध्यक्ष प्रेम बहादुर फौदारले अटो व्यवसायीहरू प्रयोगात्मक शिक्षामार्फत अगाडि बढेको बताउँदै विद्युतीय सवारीसाधनलाई अवसरको रूपमा लिएर काम गर्न आग्रह गरे । उनले यसो गर्न सकेमा अटो क्षेत्रका व्यवसाय थपिएका प्रविधिहरूमा प्रतिष्पर्धा गर्न अब्बल हुनेमा जोड दिए ।  

विद्युतीय सवारीको बारेमा भ्रमहरू रहेको बताउँदै यसका सकारात्मक पक्षहरूको बारेमा जानकारी दिन आवश्यक रहेको बताए । उनले बुटवलमा नै प्राविधिक विश्वविद्यालय सञ्चालनको तयारी रहेको बताउँदै आवश्यक छलफल र अध्ययन भइरहेको जानकारी दिए । 

संस्थाका अध्यक्ष प्रेम गौचनले अहिले पछिल्लो तथ्यांक अनुसार गाडी विक्रीको ७० प्रतिशत विद्युतीय सवारीहरू विक्री भइरहेकोले भविष्यमा यसले ग्यारेजमा ईभी गाडी नै आउने तर्क गरे । नयाँ प्रविधिको बारेमा प्राविधिक कामदारहरुलाई दक्ष बनाउनको लागि कामहरू भइरहेको बताउँदै आवश्यक कार्यहरूमा सक्रियताका साथ लागेको उल्लेख गरे । 

रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष हरि बहादुर खत्रीले अहिले विद्युतीय सवारीको माग र बजार राम्रो भएकोले यसतर्फ ध्यान दिएर काम गर्न प्राविधिकहरूलाई आग्रह गरे । उनले सिकेको सीप आफैसँग रहने भन्दै मैनाबगरको गरिमा बढाउन आग्रह गरे । 

नेपाल अटो मेकानिस्क महासंघका पूर्व केन्द्रीय अध्यक्ष जनार्दन गैरेले इभि गाडी अहिलेको राम्रो सम्भावना रहेको बताउँदै यसतर्फ ध्यान दिन आग्रह गरे । उनले यस्ता तालिमहरुमा प्राविधिकहरूलाई अनिवार्य सहभागी गराउन आग्रह गरे ।

कार्यक्रममा पूर्वअध्यक्ष भोज बहादुर बुढाथोकीले डिजेल–पेट्रोलका गाडीसँगै विद्युतीय सवारीहरूको मर्मतमा ध्यान दिएमा व्यवसाय पलायन हुन नपर्नेमा जोड दिए । स्वास्थ्य सल्लाहकार इन्द्र बहादुर राईले विद्युतीय सवारी मर्मत गर्दा वा यात्रा गर्दा केही दुर्घटना भइहाले अस्पतालसम्म पुर्‍याउने जानकारीमूलक तालिम पनि आवश्यक पर्नेमा जोड दिए ।

उद्योग उपाध्यक्ष एवं प्राविधिक तालिम विभाग प्रमुख ध्रुव राज भुसालको स्वागत तथा महासचिव पुनित पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । रुपन्देही उद्योग संघ र ईनसोर परियोजनाको सहयोगमा सुरु भएको तालिममा ३० जना मजदूर कामदारहरू सहभागी छन् । तालिममा केएनआईटिका प्रशिक्षकहरू मिलन न्यौपाने, सन्दीप लेखक र सचिन अधिकारीले प्रशिक्षण गर्नेछन् । सोमबारदेखि हुने तालिम जेठ ९ गतेसम्म ९६ घण्टा सञ्चालन हुनेछ ।