
मंगलवार , बैशाख १६, २०८२
भैरहवा, १६ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी हाटीबनगाई, दुर्गौलिया, रुपन्देहीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) खिम बहादुर खड्काविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ । भारतबाट घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरिदिने भन्दै घुस लिएको आरोपमा आयोगले मंगलबार सई खड्काविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार भारतबाट रुपन्देही जिल्लाको दुर्गौलिया नाका हुँदै भन्सार छली अवैधरुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरिदिने भनी खड्काले सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
खड्काविरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी गर्दै मुद्दा दायर भएको प्रवक्ता पौडेलले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले खड्कालाई २०८१ चैत १४ गते मायादेवी गाउँपालिका–६ बाट नियन्त्रणमा लिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij