
मंगलवार , बैशाख १६, २०८२
बुटवल, १६ वैशाख । बुटवल हस्पिटल प्रा.लि. र नेपाल सरकारबाट अवकाशप्राप्त कर्मचारीहरुको संस्था निवृत राष्ट्रसेवक समाज नेपाल बुटवल नगर कार्यसमितिबीच उपचार सम्झौता सम्पन्न भएको छ । बुटवल हस्पिटल प्रा.लि.ले उपचारका लागि निवृत राष्ट्रसेवक समाजमार्फत आउने पूर्व कर्मचारी तथा उनीहरुका परिवारका सदस्यहरुका लागि सहुलियत प्रदान गर्ने भएको छ ।
उपचार सम्झौतासँगै दुई संस्थाबीच सहकार्यको बाटो खोलेको बुटवल हस्पिटल प्रा.लि.का उपाध्यक्ष ललित खरेलले बताए । उनले बुटवल हस्पिटल सबै क्षेत्र वर्ग र समुदायका नागरिककै संस्था भएकोले यसको संरक्षण र प्रवर्द्धनमा पनि सबैको सहयोग आवश्यक रहेको बताए । उनले सबैखालको उपचार, उपकरण र दक्ष जनशक्तिको संयोजन रहेकोले निर्धक्क भएर स्वास्थ्य सेवा लिन आग्रह समेत गरे ।
सो अवसरमा बुटवल हस्पिटल प्रा.लि.का मेडिकल सुपरीटेण्डेण्ट डा.कृष्ण प्रसाद खनालले सरकारबाट पेन्सनका रुपमा सहुलियत पाउने एक हिसाबले जेष्ठ नागरिककै रुपमा रहेका पूर्व कर्मचारीहरुसँग सहकार्य गर्नु पाउनु स्वागतयोग्य रहेको बताए ।
निवृत राष्ट्रसेवक समाज बुटवलका अध्यक्ष भोज बहादुर केसी र सचिव मुकुन्दराज गौतमले बुटवल हस्पिटल यस क्षेत्रमै नमुना अस्पताल भएकोले अबका दिनमा जेष्ठ नागरिकलाई स्वास्थ्य समस्या आउँदा बुटवल हस्पिटललाई नै सम्झने वातावरण बनेको बताए । दुई संस्थाबीच सम्झौता हस्ताक्षर कार्यक्रममा बुटवल हस्पिटल प्रा.लि.का जनरल म्यानेजर देवेश कर्ण, प्रशासन प्रमुख बिक्रम खड्का, ईमरजेन्सी तथा अप्रेशन इञ्चार्ज सरोज चौधरी, बजार प्रमुख सुमन तिमिल्सिना लगायतले धारणा राखेका थिए ।
आजभन्दा २५ वर्षअघि बुटवल हस्पिटल लाईनमा स्थापना भएको बुटवल हस्पिटल प्रा.लि. अहिले १ सय शैयामा सञ्चालनमा छ । जहाँ विशेषज्ञ चिकित्सकहरुको निगरानीमा आईसीयू, एनआईसीयु, एचडीयूसहितका उपचार कक्षहरु सञ्चालनमा छन् भने एकपटकमा ४ वटा अप्रेशन गर्न मिल्ने गरी ओटी संरचना छ ।
बुटवल हस्पिटलमा चिकित्सक, नर्ससहित ३ सय कर्मचारीहरु कार्यरत छन् । यस क्षेत्रका उद्योगी–व्यवसायी, चिकित्सकहरुसहितको सहभागीतामा लगानीमा रहेको अस्पतालमा अत्याधुनिक उपकरणहरुको व्यवस्थापन गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij