
बिहिवार , बैशाख १८, २०८२
दाङ, १८ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले श्रमिक अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । विश्व मजदूर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीविहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उनले श्रम अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्धता रहेको बताएका हुन् ।
प्रत्येक वर्ष मे १ तारिखमा मनाइने विश्व मजदूर दिवस श्रमिकको पेशागत मर्यादा, सम्मान र अधिकारको प्रत्याभूति गराउने दिवसको रूपमा स्थापित भएको उल्लेख गर्दै यसले विश्वभरीका श्रमिकहरूलाई हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ एकताबद्ध गर्न प्रेरणा दिने मुख्यमन्त्री आचार्यले विश्वास व्यक्त गरेका छन् ।
उनले नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारी र श्रमको हक सुनिश्चित गर्नुका साथै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई सुनिश्चित गरेको कुरामा जोड दिए । त्यस्तै, समान कामका लागि लैंगिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव नहुने संवैधानिक प्रावधानको स्मरण गराउँदै उनले सबै श्रमिकहरूका हकअधिकार सुनिश्चित गर्न समानताको हकले समेत ग्यारेण्टी दिएको उल्लेख गरे ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले संविधानले दिएको अधिकारलाई कार्यान्वयन गर्दै प्रदेशको समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी आत्मनिर्भरताको लक्ष्यलाई प्राथमिकतामा राखेको जानकारी दिए । उनले उद्यमशीलताको माध्यमबाट समुदायस्तरमा पूँजीको विकास गर्दै स्थानीय उत्पादनको कार्यमा सबैलाई जोड्न आवश्यक रहेको औंल्याउँदै यस अभियानलाई अघि बढाउन उद्यमी तथा श्रमिक जनशक्तिको महत्वपूर्ण भूमिका रहने स्पष्ट पारे ।
मुख्यमन्त्रीले आचार्यले मर्यादित श्रमको वातावरण निर्माण गर्दै उत्पादन र उत्पादकत्व वृद्धिका लागि प्रदेश सरकारले आवश्यक नीतिगत व्यवस्था गर्दै तिनको कार्यान्वयनमा समेत सक्रियता देखाइरहेको उल्लेख गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij