
शुक्रवार , बैशाख १९, २०८२
स्याङजा, १९ वैशाख । वालिङ उद्योग वाणिज्य संघ, स्याङ्जाले सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको टोलीलाई स्वागत तथा भेटघाट कार्यक्रम गरेको छ । संघले बिहीबार आफ्नो सभाहलमा सिद्धार्थ उद्योग वाणिज्य संघबाट अध्ययन अवलोकन भ्रमणमा पुगेको टोलीलाई स्वागत तथा सम्मान गरेको हो ।
वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले सिद्धार्थ उद्योग वाणिज्य संघको टोलीलाई स्वागत तथा सम्मान गर्दै व्यवसायिक सम्बन्धलाई दुवै संघले अझ बलियो बनाउनुपर्ने बताए ।उनले सिद्धार्थ उद्योग वाणिज्य संघ नेपालकै नमूनायोग्य संघ भएकाले त्यहाँ जस्तो ठुलो घराना व्यवसायी, उद्योग तथा कलकारखानाहरु आफ्नो संघको सदस्य नभए पनि साना, घरेलु र परम्परागत व्यापार गर्नेहरु रहेको जानकारी दिए ।
अध्यक्ष श्रेष्ठले वालिङ उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष तथा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्ण प्रसाद शर्मालाई आगामी कार्यकाल लागि हुने नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रिय समितिको उपाध्यक्ष पदको उम्मेदवारमा प्रस्ताव गरेका थिए ।
स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले वालिङ उद्योग वाणिज्य संघ र सिद्धार्थ उद्योग वाणिज्य संघबीचको सम्वन्ध व्यापारिक सम्बन्धबाट अब आत्मिय सम्बन्धतर्फ अगाडि बढेको बताए । उनले निजी क्षेत्रको विकासका लागि दुवै संघले सँगसँगै काम गर्नुपर्ने पनि प्रस्ताव राखे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले उद्योगी–व्यवसायी देशका मेरुदण्ड भएकाले इमानदार भएर व्यापार व्यवसाय सञ्चालन गर्नुपर्ने बताए । उनले देश संकटमा पर्दा निजी क्षेत्रले धैर्यताका साथ सहयोग तथा सहकार्य गर्ने तप्परता राख्नुपर्ने बताए ।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, पूर्वअध्यक्षहरु विष्णु प्रसाद शर्मा, कूल प्रसाद न्यौपाने, रामकुमार शर्माले आ–आफ्नो धारणा राखेका थिए । अध्ययन अवलोकन भ्रमणमा सिद्धार्थ उद्योग वाणिज्य संघको पदाधिकारी, कार्यसमिति सदस्य, पूर्वअध्यक्षहरु, कर्मचारी लगायतको सहभागीता छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij