
शुक्रवार , बैशाख १९, २०८२
बुटवल, १९ वैशाख । समुदायमा अपांगता भएका नागरिकहरुलाई हकअधिकार र राज्यबाट पाउने सुविधाबारे जानकारी गराउने उद्देश्यले रुपन्देहीको बुटवलमा सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा वडा नम्बर ३ मा अपांगता भएका व्यक्तिहरुलाई उनीहरुको हकहितबारे सचेत बनाउन समुदाय तहगत सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहजीकरण गर्दै अपांग महासंघका सावित्रा घिमिरेले अपांगता भएका व्यक्तिहरुका सम्बन्धमा बनेका ऐन, कानून, नीतिनियमहरु कार्यान्वयनमा सरोकारवाला निकायको तदारुकता आवश्यक रहेको बताए । उनले अपांगता सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी अनुसार अन्य व्यक्ति सरह स्थापित हुनका लागि, अवसर र सम्मानप्राप्त गर्नका लागि आवश्यक नीति र विधि निर्माणमा सरकारले ध्यान दिनुपर्ने बताए ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष विष्णु ढकालले सबै नागरिकको हकअधिकार स्थापित गर्दै उनीहरुलाई राज्यले प्रदान गर्ने अवसर, सेवा र सुविधामा बढोत्तरी गर्दै जानुपर्नेमा जोड दिए । अपांगता भएका व्यक्तिहरु सामान्यदेखि गम्भिर प्रकारका हुने भएकाले उनीहरुको शारीरिक र मानसिक अवस्था अनुसारको सेवासुविधा प्रदान गर्ने विषयमा सरोकारवाला निकाय र प्रतिनिधिहरु पनि गम्भिर हुनुपर्ने विचार व्यक्त गरे ।
अपांगता क्षेत्रमा क्रियाशील व्यक्तिहरुका अनुसार शारीरिक अपांगता भनेको व्यक्तिको शारीरिक कार्यप्रणाली, गतिशिलता, निपुणता वा सहनशक्तिमा कमी हुनु हो । यी अशक्तताहरू हल्कादेखि गम्भीरसम्मका हुन सक्छन् र दैनिक गतिविधिहरू गर्ने व्यक्तिको क्षमतामा असर पार्छन् ।
विज्ञहरुका अनुसार शारीरिक वा मानसिक अपांगता जन्मजात, चोटपटक, रोग बिमार वा विकारहरू लगायत विभिन्न कारणले हुन सक्छन् । कार्यक्रममा अभिभावकसहित विभिन्न प्रकारका ६० जना अपांगता भएका व्यक्तिहरुको सहभागीता थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij