
शनिवार , बैशाख २०, २०८२
बाँके, २० वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको सरकारी सेवामा प्रवेशका लागि प्रदेश सरकारले अवसर सुनिश्चित गरेको बताएका छन् । नेपाल मुस्लिम इत्तेहाद संगठनको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई शनिबार बाँकेमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले उपलब्ध अवसरहरूको सदुपयोगमा ध्यान दिन आग्रह गरेका हुन् ।
प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐनमा मुस्लिम समुदायको ७ प्रतिशत आरक्षण सुनिश्चित गरेको उल्लेख गर्दै उनले ती अवसरहरूको पूर्ण सदुपयोगका लागि अपील गरे । ‘मुस्लिम समुदायको सरकारी सेवामा प्रवेशका लागि अधिकारको सुनिश्चितता गरेका छौं । प्रदेश सरकारले लोक सेवामा ७ प्रतिशत आरक्षणको व्यवस्था गरेको छ’उनले भने–‘यो अवसर सदुपयोगका लागि शिक्षामा ध्यान दिन जरुरी छ । छोराछोरीलाई बराबरी अवसर दिन जरुरी छ । यसका लागि परिवारबाट नै सुधार गर्न जरुरी छ ।’
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले मदरसा शिक्षामा सुधार ल्याउनका लागि लगानी गरेको र महिलाहरूलाई उच्च शिक्षाका लागि छात्रवृत्ति दिएको जानकारी दिदै अझै पनि छोरीहरूले पढाइमा समान अवसर नपाउनु चिन्ताको विषय भएको बताए । ‘प्रदेश सरकारले शिक्षामा पहुँच बढाउन मदरसाहरूको सुधारमा लगानी गरेको छ । महिलाहरूलाई उच्च शिक्षाका लागि छात्रवृत्ति दिएको छ’ उनले भने–’छोरीहरूलाई विद्यालय पठाउन जरुरी छ । छोराछोरीलाई बराबरी महत्व दिएर शिक्षामा अवसर दिनुपर्छ ।’
लुम्बिनी प्रदेशमा मातृ मृत्युदर, बाल मृत्युदर, कुपोषणको दर उच्च रहेको र यी समस्या मुस्लिम तथा पिछडिएको समुदायमा बढी देखिएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले सुधारका लागि सरकारले थालनी गरेका अभियानहरूमा सहभागीताको आह्वान गरे । ‘के कारणले यस्तो अवस्था आयो, कारण बुझ्न जरुरी छ’उनले भने–‘बाल विवाहलाई निरुत्साहित गर्न जरुरी छ । यसमा मुस्लिम समुदायका नेतृत्व बढी जिम्मेवार भएर ध्यान दिन जरुरी छ ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij