
शनिवार , बैशाख २०, २०८२
भैरहवा, २० वैशाख । सनातनी धर्म संस्कारका ज्ञाता एवं भारतको निरञ्जन पीठाधिसका पिठाधिश्वर स्वामी कैलाशानन्द गिरी नेपालको विभिन्न धार्मिक क्षेत्रको भ्रमण गर्ने क्रममा यतिबेला रुपन्देहीको भैरहवा आइपुगेका छन् । पूर्व सांसद् तथा नेपाली काँग्रेसका युवा नेता प्रमोद कुमार यादवको पहलमा स्वामी कैलाशानन्दलाई भैरहवा निम्ताइएको हो ।
उनलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नका लागि पूर्व सांसद् यादवसहित पूर्व गृहमन्त्री बालकृष्ण खाण, प्रतिनिधि सभा सदस्य मन्जु खाण, लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेसहित विभिन्न पालिकाका प्रमुखहरु, नेपाल उद्योग वाणिज्य महासंघका उद्योग समितिका सभापति राजेश कुमार अग्रवाल, उद्योगी चुन्नु प्रसाद पौडेल लगायत उद्योगी–व्यवसायी र राजनीतिक दलका नेता–कार्यकर्ताहरु उपस्थित भएका थिए ।
भैरहवा विमानस्थलबाट विशेष प्रकारको रथमा रथारोहण गराई मायादेवी चोकसम्म बाजागाजासहित उनलाई भव्य स्वागत समेत गरिएको थियो । त्यसपछि उनी गाडीमार्फत होटल बोधी रेडसनमा पुगेका थिए ।
सनातनी धर्म संस्कारको प्रवद्र्धन गर्ने उद्देश्यले नेपालका धार्मिक क्षेत्रको भ्रमण गरिरहेको स्वामी कैलाशानन्दले बताएका छन् । उनले भैरहवामा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै भने–‘नेपालको विभिन्न धार्मिकस्थलहरुको भ्रमण गर्ने क्रममा यतिबेला भैरहवा आइपुगेको छु । आइतबार बुद्ध जन्मस्थल लुम्बिनी जाने कार्यक्रम छ । ’
स्वामी कैलाशानन्दले नेपालका धेरै धार्मिक स्थलहरु अत्यन्तै पवित्र भएकोले ती स्थलहरुको भ्रमण गर्न करोडौं भारतीयहरु पनि आउने विश्वास व्यक्त गरे । स्वामी कैलाशानन्द नेपाल भ्रमणको संयोजन गरिरहेका पूवं सांसद् समेत रहेका प्रमोद कुमार यादवले भने, ‘स्वामी कैलाशानन्दको दशदिने नेपाल भ्रमणले नेपालको धार्मिक पर्यटनमा विशेष टेवा पुग्नेछ । उहाँले चरण राखेका ठाउँहरु र उहाँले भ्रमण गरेका ठाउँहरु हेर्न उहाँका करोडौ शिष्यहरु आउनेछन् । त्यसैले उहाँले जहाँ जहाँ भ्रमण गर्नुभएको छ, ती ठाउँमा करोडौ भारतीय नागरिक र स्वामीजीका विदेशी शिष्यहरु प्नि आउनेछन् । जसले नेपालको धार्मिक पर्यटनमा विशेष टेवा पुग्नेछ । ’
स्वामी कैलाशानन्द वैशाख १५ गते दिल्लीबाट नेपाल एअरलायन्सको जहाजमार्फत काठमाडांै आएका थिए । उनले सोही दिन ललितपुरको गोदावरी रिसोर्टमा राजनीतिक दलका नेताहरु, उद्यमी, व्यवसायी र आफ्ना शिष्यहरुसँग भेटघाट गरेका थिए । १६ गते पशुपतिनाथमा विशेष पूजापाठ गरेका थिए । सोही दिन काठमांडौबाट पोखरा पुगेका थिए । पोखरामा १७ गते कोटीहोमको उद्घाटन गरेका थिए । १८ गते पोखरा भ्रमण गरेका थिए । त्यसपछि १९ गते हेलिकप्टरमार्फत दामोदर कुण्ड पुगेर उनले पूजा गरेका थिए ।
त्यसपछि २० गते शनिबार (आज) उनी पोखराबाट भैरहवा आइपुगेका छन् । आज उनले भैरहवामा भेटघाट गर्ने कार्यक्रम रहेको छ भने भोलि २१ गते आइतबार बुद्ध जन्मस्थल लुम्बिनी जाने कार्यक्रम तय भएको छ । २२ गते भैरहवाबाट काठमाडौं फर्किने र सोही दिन गोसाईकुण्ड जाने कार्यक्रम तय भएको छ । त्यसपछि उनी सोही दिन चन्द्रागिरी रिर्सोटमा बस्ने, भेटघाट गर्ने त्यसपछि २३ गते दक्षिणकाली मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम तय भएको छ । २३ गतेदेखि २६ गतेसम्म काठमाडौंमा बस्ने स्वामी कैलाशनन्द २६ गते नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम तालिका रहेको छ ।
भारतको निरञ्जना अखडाका प्रमुख समेत रहेका स्वामी कैलाशानन्द भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका समेत सल्लाहकारको रुपमा मानिन्छन् । धार्मिक विषयमा र सनातनी धर्म संस्कारको विषयमा खास निर्णय लिनुपर्दा भारतीय प्रधानमन्त्री मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले स्वामी कैलाशानन्दको सल्लाह लिने गरेको भारतीय मिडियाहरुले समेत लेख्दै आएका छन् ।
भारतमा गत माघ महिनामा लागेको प्रयागराज महोत्सवका प्रमुख केन्द्रबिन्दू समेत रहेका कैलाशानन्द स्वामी विश्व जगतमा हिन्दू सनातनी धर्म संस्कारका विख्यात ज्ञाता समेत मानिदै आएका छन् । उनी योग, धर्म, दर्शनका विद्वान समेत मानिन्छन् । स्वामी कैलाशनन्दको भ्रमणले नेपालको पर्यटन क्षेत्रको प्रचार-प्रसारमा समेत थप टेवा दिने प्रचार संयोजन गरिरहेका लुम्बिनी प्रेस क्लबका पूर्वअध्यक्ष नरेश के.सी.ले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij