
मंगलवार , बैशाख २३, २०८२
भैरहवा, २३ वैशाख । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाले न्यायिक समितिलाई बलियो बनाउन सरोकारवालाहरुबीच अन्तरक्रिया तथा कार्यशाला गरेको छ । शुक्रबार र शनिबार दुईदिन मेलमिलापकर्ता, वडा सचिव, प्रहरी इञ्चार्ज तथा पत्रकारहरुको उपस्थितिमा स्थानीय तहबाट प्रदान हुने न्याय सम्पादन सम्बन्धि उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा आम नागरिकमा सही समयमा उचित न्याय प्रदान गर्न सरोकारवालाहरु सही भूमिका खेल्नुपर्ने सहभागीहरुले जोड दिए । त्यसै गरी अन्तरक्रियामा न्यायिक समितिको काम कर्तव्य र अधिकारबारे छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै सम्मरीमाई गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तवले स्थानीय तहमा न्यायिक समिति तथा मेलमिलाप कार्यालय गाउँघरमा न्याय दिने उत्कृष्ट व्यवस्था रहेको बताए । उनले छिटोछरितो न्याय पाउनका लागि संविधानले दिएको उक्त व्यवस्था उपलब्धीमूलक बन्दै गएको बताए ।
न्यायिक समितिको पदाधिकारी तथा सदस्यहरुका संरचनाबाट हरेक वर्गलाई समेटेकाले यो समितिको कामबाट हरेक जात, धर्म, समुदायले न्याय पाउने विश्वास रहेको उनले बताए । न्यायिक समितिलाई व्यवस्थित र सबल बनाउन गाउँपालिकाबाट कार्यक्रम सञ्चालन गरी सहयोग गर्ने अध्यक्ष श्रीवास्तवले प्रतिवद्धता ब्यक्त गरे ।
गाउँपालिका उपाध्यक्ष कुमारी प्रियंका शाही सिंहले न्यायिक समिति र मेलमिलाप केन्द्रमाथि जनविश्वास बढने गरेको बताइन् । रुपन्देही जिल्ला अदालतका न्यायाधीशले समयसमयमा सम्मरीमाई गाउँपालिका न्यायिक समितिको अनुगमनले थप बलियो बनाउँदै गरेको उपाध्यक्ष सिंहले बताइन् । न्यायिक समितिले घरघरमा न्याय दिने अपेशक्षालाई सार्थक बनाउन हरेक सारोकारवालाले जिम्मेवार बनी समन्वयको आवश्यकता रहेको उनले बताइन् । न्यायिक समितिमा न्यायका लागि आएका आएका दुवै पक्षलाई भेदभावरहित सन्तोषजनक न्याय प्रदान गरिएको उनले बताइन् । गत आर्थिक वर्षमा करिब २ सय वटा विवादलाई निरुपण गरेको उनले जानकारी दिइन् ।
कार्यक्रममा सम्मरीमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिृकत राजेश मल्लाह, सामुदायिक प्रकोप व्यवस्थापन संजाल नेपालका अध्यक्ष जगन्नाथ प्रसाद कुर्मी लगायतले बोलका थिए । रामदास गौडको सञ्चालनमा भएको कार्यक्रमको अधिवक्ता प्रदीप यादले सहजीकरण गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij