
शुक्रवार , बैशाख २६, २०८२
भैरहवा, २६ वैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ स्थित स्वर्गद्वारी घाटमा रहेको शवदाह गृहको जिर्णोद्वारको काम तीव्र पारिएको छ । शवदाह गृहका मेशिनहरु काम गर्न लायक नभएपछि लामो समयदेखि उक्त सवदाहगृह सञ्चालन हुन सकेको थिएन । जसका कारण शव जलाउन समस्या भएको थियो । सामान्य मर्मतले काम नचल्ने अवस्थामा रहेका कारण निमार्णमा ढिलाइ भएको थियो । उक्त समस्या निराकरण गर्न नगरपालिकाले गत शुक्रबार निर्माण कम्पनीसँग सम्झौता गरेको थियो ।
सम्झौता पश्चात कम्पनीले काम धमाधम गरिरहेको र छिट्टै नै शवदाह गृह सञ्चालनमा ल्याउने तयारी भइरहेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले जानकारी दिए । मर्मत एवं जिर्णोद्वारका लागि युरोटेक नेपाल प्रा.लि.सँग सम्झौता भएको हो । मेयर खाँले गुणस्तरीय रुपमा काम सम्पन्न गर्न निर्देशन दिएका छन् । निमार्ण कम्पनीले सम्झौता लगत्तै काम सुरु गरेको हो ।
निर्माण कम्पनीका सञ्चालक पशुपति आचार्यले समयमै गुणस्तरीय रुपमा काम सक्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij