२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रुपन्देही नागरिक समाज सिद्धार्थनगर समितिको पदभार ग्रहण कार्यक्रम सम्पन्न

शनिवार , बैशाख २७, २०८२

भैरहवा, २७ वैशाख । रुपन्देही नागरिक समाज सिद्धार्थनगर, नगर समितिको तेस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार भैरहवामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष राजा प्रताप शाहीसहित पदाधिकारी र सदस्यहरुले पदभार ग्रहण गरेका हुन् । गत वैशाख २० गते सम्पन्न समाजको तेस्रो अधिवेशनले शाहीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको थियो । 

नगर समितिको उपाध्यक्षमा रन्जु शर्मा, सचिवमा तुल्सी राम भट्टराई, सह–सचिवमा नरेश अधिकारी, कोषाध्यक्षमा अन्जन जोशी र सह–कोषाध्यक्षमा निश्चल गुरुङ निर्वाचित भएका थिए । त्यस्तै सदस्यमा माला प्रधान, इन्दिरा कुवर, भिष्म राज राना, तार्जन थापा, भिम गुप्ता, रितेश शाक्य र सदानन्द गिरी निर्वाचित भएका थिए ।

पदभार ग्रहण कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुपन्देही नागरिक समाजका अध्यक्ष अमित कुमार गुप्ताले जनताले सरकारी निकायबाट पाउनुपर्ने सेवा पाए कि पाएनन् भन्नेबारे समाजले ध्यान दिन जरुरी रहेको बताए । ‘स्थानीय सरकारले गरेका कार्यक्रम नागरिकसम्म पुग्यो कि पुगेन वा कागजमै सीमित भयो ? यो विषयमा पनि निगरानी गर्न जरुरी छ, ’उनले भने । अध्यक्ष गुप्ताले नागरिक समाजले ‘वाचडग’ को रुपमा काम गरिरहेको उल्लेख गरे । कुनै पनि नागरिक उत्पीडनमा परेको अवस्थामा त्यो नागरिकलाई न्याय दिलाउन नागरिक समाजले पहल गर्नुपर्ने उनको भनाइ थियो ।

IMG_4591.JPG

त्यस्तै विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष सोम बहादुर गुरुङले रुपन्देही नागरिक समाजले अझ राम्रो काम गर्दै जाने विश्वास व्यक्त गरे । ‘नागरिक समाज भनेको मर्कामा परेको जनताका लागि लागि बोल्ने संस्था हो, ’उनले भने ।

रुपन्देही नागरिक समाजका संरक्षक क्याप्टेन रेशम के.सी.ले नागरिक समाज जाती र पार्टी भन्दा माथि उठेर काम गर्ने संस्था भएको बताए । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ नगर समितिका अध्यक्ष राजु गुरुङले नागरिक समाजसँग हातेमालो गर्दै अघि बढ्ने बताए ।

रुपन्देही नागरिक समाज सिद्धार्थनगर, नगर समितिका अध्यक्ष राजा प्रताप शाहीको अध्यक्षता, उपाध्यक्ष रन्जु शर्माको स्वागत तथा सचिव तुल्सी राम भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सचिव भट्टराईले वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए ।