२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सकियो दुईदिने तिलोत्तमा दलित ज्ञान उत्सव

आइतवार , बैशाख २८, २०८२

तिलोत्तमा, २८ वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा सञ्चालित दुईदिने ‘तिलोत्तमा दलित ज्ञान उत्सव २०८२’ शनिबार सकिएको छ । न्याय, समानता र अधिकारका लागि दोस्रो संस्करणका रुपमा ज्ञान उत्सव गरिएको हो । 

उत्सवको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले एक समारोहकाबीच समापन गरेका हुन् । मन्त्री तिमिल्सिनाले पछाडि पारिएको दलित समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन जनप्रतिनिधिको भूमिका हुनुपर्ने बताए । उनले लुम्बिनी प्रदेश सरकारले दलित अधिकार ऐन ल्याउने तयारीमा जुटेको समेत बताए । उनले तिलोत्तमा नगरपालिकाले दलित ज्ञान उत्सव गरेर नमूना काम गरेको बताए ।
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले तिलोत्तमा नगरपालिकालाई मानवताको सहर बनाउने अभियान अन्तर्गत ज्ञान उत्सव गरेर सफलतापूर्वक सम्पन्न गरिएको बताए ।

यसअघि शनिबारको छलफलमा पूर्वमन्त्री मिन विश्वकर्मा, नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तोला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियार सहभागी संघीयतामा दलित सवाल र प्रतिनिधित्व विषयमा छलफल गरिएको थियो । उक्त छलफलमा सहभागीहरुले दलित समुदायका लागि संघीयता हर्ष न विस्मातको अवस्थामा रहेको बताउँदै प्रतिनिधित्वको सवालमा केही सुधार भए पनि त्यो पर्याप्त नभएको बताए । उक्त कार्यक्रमको सहजीकरण पत्रकार विनोद परियारले गरेका थिए । 

त्यसै गरी प्रशासनिक संयन्त्रमा समावेशीता विषयमा पूर्व सचिव डा. मानबहादुर विक, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, इलाका प्रशासन कार्यालय बुटवलका कार्यालय प्रमुख रामचन्द्र अर्यालको उपस्थितिमा सत्र भएको थियो । 

यो सत्रको सञ्चालन पत्रकार सञ्जु पौडेलले गरेकी हुन् । त्यसै गरी दोस्रो दिन नै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्याल र अध्येता सुशिल विके वक्ता रहेको सत्रमा स्थानीय सरकारमा दलितमैत्री बजेटबारे छलफल गरिएको थियो । यो सत्रको सञ्चालन पत्रकार टंक सुनारले गरे । 

त्यसै गरी सामाजिक रुपान्तरणमा युवा सत्रमा अध्येता गणेश श्रीपाली, अधिकारकर्मी संजय निगम, अधिकारकर्मी सुभाष नेपालीहरुले छलफल गरे । यो सत्रको सञ्चालन लेखक हुमराज भुसालले गरे । त्यसै गरी पहिलो दिन शुक्रबार लुम्बिनी प्रदेशमा दलित समुदायको सशक्तिकरण, दलित अधिकार ऐन र राजनीतिक दलको भूमिका विषयमा नेपाली काँग्रेस लुम्बिनीका प्रमुख सचेतक जमुना ढकाल, नेकपा (एमाले) का सचेतक तुलसी प्रसाद चौधरी र सामाजिक विकास समितिका संयोजक यमबहादुर गैरे नेपालीबीच छलफल गरिएको थियो । यो सत्रको सञ्चालन पत्रकार अमृता अनमोलले गरेकी थिइन् ।   

त्यसै गरी राजनीतिक दल र दलित समावेशीकरण सवाल विषयमा नेपाली काँग्रेसका रुपन्देहीका सभापति रामकृष्ण खाँण, नेकपा (एमाले) रुपन्देहीका अध्यक्ष यज्ञ गैरै र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष निर्मल जि.सी.बीच छलफल गरिएको थियो । यो सत्रको सञ्चालन पत्रकार दिनेश पाण्डेले गरे । त्यसै गरी दलित र उद्यमशिलताका विषयमा उद्यमीहरु जितु बौडेल, तारा सुनार, फणिन्द्र घलेबीच छलफल गरियो भने यो सत्रको सहजीकरण जीवन परियारले गरेका हुन् ।

बहससँगै विभेदविरुद्ध चित्रकला प्रदर्शन, गीत संगीत प्रस्तुति, संघीय, प्रदेश तथा स्थानीयस्तरका सरोकारवालाको अनुभव र सामाजिक जागरणको विषयमा चर्चा गर्दै उत्सव उत्साहका साथ सम्पन्न भएको वन तथा वातावरण समितिका संयोजक एवं कार्यपालिका सदस्य सुरेन्द्र श्रीले बताए । उत्सवलाई दलित समुदायको अधिकार र सवाललाई पुन बहसमा ल्याउने र स्थानीय सरकारले दलितको आत्मसम्मान बढाउन आयोजना गरिएको कार्यपालिका सदस्य रवि सेन्चुरीले बताए ।

न्याय, समानता र अधिकार भन्ने नाराका साथ आयोजित ज्ञान उत्सवको पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले उद्घाटन गरेका थिए ।