२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

संघीयता सबलीकरणका लागि प्रदेशलाई बलियो बनाउन जरुरी : मुख्यमन्त्री आचार्य

सोमवार , बैशाख २९, २०८२

लुम्बिनी, २९ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सबलीकरणका लागि प्रदेशलाई बलियो बनाउन आवश्यक रहेको बताएका छन् । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमलगायतका विषयमा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) का आवासीय प्रतिनिधि क्योको योकोसुसँगको भेटमा मुख्यमन्त्री आचार्यले प्रदेश तह आत्मनिर्भरताको बाटोमा अघि बढेको र पूर्णरूपमा आत्मनिर्भर नहुञ्जेल साझेदारहरूको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।

‘संघीयताको अभ्यासमा छौं । नयाँ संरचना प्रदेश हो । प्रदेशलाई आत्मनिर्भर बनाउन खोजेका छौं । सुरुमा कानून निर्माण गर्ने काम भयो । अब संघीयताको सबलीकरणका लागि प्रदेशलाई बलियो बनाउने गरी भूमिका बढाइरहेका छौं’ मुख्यमन्त्री आचार्यले भने–‘अहिले प्रदेश र स्थानीय सरकार बलियो बन्दै गएका छन् । सरोकारवालाहरूको भावना समेटेर अघि बढ्न महत्त्वपूर्ण सहयोग भएको छ । कार्यक्रमको क्षेत्र अझै विस्तार गर्नुपर्ने देखिन्छ । सरसफाईको क्षेत्रमा नमूना काम भएको जानकारीमा छ । अब क्षेत्र विस्तारमा पनि ध्यान दिनुपर्छ ।’ मुख्यमन्त्री आचार्यले प्रदेश सरकार सुशासन कायम गर्ने र भ्रष्टाचार न्यूनीकरण गर्ने अभियानमा प्रतिबद्ध रहेको पनि स्पष्ट पारे ।

यूएनडीपीकी आवासीय प्रतिनिधि क्योको योकोसुले लुम्बिनी प्रदेश सरकारसँग विभिन्न क्षेत्रमा सहकार्य जारी रहेको र संघीयता सवलिकरणका लागि दोस्रो चरणको कार्यक्रम सुरु भएको जानकारी दिए । उनले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रममार्फत प्रदेश र स्थानीय सरकारको सबलीकरणलाई प्राथमिकतामा राखिएको जानकारी गराउँदै संस्थागत क्षमता वृद्धि गर्नु, सेवा प्रवाहमा पारदर्शिता र प्रभावकारिता ल्याउनु, तथा समावेशी र सहभागी शासन प्रणालीलाई मजबुत बनाउने गरी कार्यक्रम अघि बढिरहेको उल्लेख गरे ।