
मंगलवार , बैशाख ३०, २०८२
भैरहवा, ३० वैशाख । सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. सिद्धार्थनगर नगरपालिका वडा नम्बर १, रुपन्देहीले आफ्नो १८ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा मंगलबार गणमा आयोजित विशेष कार्यक्रमको सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय, रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिपेन्द्र कुवँरले उद्घाटन गरे ।
सो अवसरमा बोल्दै डीआईजी कुवँरले नयाँ प्रविधिलाई अनुसरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । उनले आम नागरिक, अन्य सरोकारवाला निकायको साथ, सहयोग र समन्वयको भूमिका रहने बताए । ‘हाम्रो सेवा प्रवाहबाट जनमानसमा छाउने खुसीसँगै उहाँहरुले पाउने सन्तुष्टी नै हाम्रा लागि सफलताको सूचक हुन् एवं व्यवसायिक जिम्मेवारी र कर्तव्यको प्रतिफल पनि हुन्, ’उनले भने ।
डीआईजी कुवँरले जनताको मन जित्न आ–आफ्नो तह र तप्काबाट हरेक जिम्मेवारीमा रहनुभएका कर्मचारीहरुले आफूलाई अब्बल सावित गर्न र निरन्तर क्रियाशील हुनुपर्ने बताए । आफ्ना व्यक्तिगत स्वार्थ, आग्रह र पूर्वाग्रहलाई थाती राख्दै संगठन विकासको एउटै लक्ष्यका साथ अगाडि बढ्नुपर्ने आजको आवश्यकतालाई गम्भिरतापूर्वक मनन गर्नुपर्नेमा उनले जोड दिए ।
त्यस्तै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले बोली भन्दा काममा विश्वास गरेर सशस्त्र प्रहरीले काम गर्दै आएको बताए । उनले स्थापनाकालदेखि नै सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. सिद्धार्थनगरले महत्वपूर्ण कार्य गर्दै आएको बताए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जनताले सशस्त्र प्रहरीबाट अपेक्षा गरेका कुराहरु प्राप्त गरेका छन् वा छैनन् भन्ने विषय महत्वपूर्ण रहेको बताए । उनले भने–‘हामीलाई तोकिएको जिम्मेवारीप्रति कत्तिको उत्तरदायी छौं, त्यो महत्वपूर्ण कुरा हो ।’
सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा.का गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मेखराज जोशीले सशस्त्र प्रहरीले सीमा सुरक्षा, राजस्व संकलनमा सहयोग, लागूऔषध तथा चोरी तस्करी नियन्त्रण, विपद् व्यवस्थापन लगायतका कार्य गर्दै आएको बताए । उनले आफूले पाएको जिम्मेवारी अनुसार सशस्त्र प्रहरीले कार्यसम्पादन गर्दै आएको बताए । सशस्त्र प्रहरीले सामाजिक कार्य पनि गर्दै आएको उनको भनाइ छ ।
नेपाल पूर्व सशस्त्र प्रहरी संघका केन्द्रीय उपाध्यक्ष कविराज श्रेष्ठले स्थानीय सरकार, अवकाशप्राप्त सशस्त्र प्रहरी अधिकृत तथा जवान र कर्मचारीहरुसँग समन्वय गर्दै कार्यक्रमहरु गरेको बताए ।
कार्यक्रममा उत्कृष्ट कार्य गरेको भन्दै सशस्त्र प्रहरी निरीक्षक गोरख सिंह भण्डारी, सशस्त्र प्रहरी नायव निरीक्षक विष्णु प्रसाद कंडेल, सशस्त्र प्रहरी हवल्दार यम बहादुर जि.सी. सशस्त्र प्रहरी जवान गौरव बुढा र दिलसरा कुवंरलाई नगदसहित सम्मान गरिएको थियो । त्यस्तै सशस्त्र प्रहरी जवान रीतु भट्टराईलाई ‘सोल्जर अफ द मन्थ’ घोषणा गरी नगदसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा भलिबल प्रतियोगिता, हाजिरीजवाफ र दौड प्रतियोगितामा विजयी सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा २७ नम्बर गणबाट अवकाश प्राप्त हुने सशस्त्र प्रहरी कर्मचारी र शहीद परिवारलाई सम्मान गरिएको थियो । सशस्त्र प्रहरी निरीक्षक दीपक लामिछानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij