
बुधवार , जेठ १, २०८२
भैरहवा, ३१ वैशाख । रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रोहिणीको आयोजनामा जेठ १ गते बिहीबार (भोली) देखि रुपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित धकधईमा दोस्रो रोहिणी मेला महोत्सव–२०८२ सुरु हुने भएको छ ।
न्यू एम.के.साउण्ड सिस्टम रोहिणीको व्यवस्थापनमा हुने महोत्सवमा नेपाल र भारतका प्रख्यात कलाकारको प्रस्तुति रहने क्लबका अध्यक्ष इमरान खानले बताए ।
महोत्सवमा कलाकाहरु प्रिती पासवान, दुर्गेश थापा, रेविका अधिकारी, धड्कन धनन्जय, विनिता शाही डान्स ग्रुपसहित स्थानीय कलाकारको प्रस्तुति रहने खानले जानकारी दिए । महोत्सवमा सम्भव भएसम्म नेपाल र भारतीय पहलवानबीच कुस्ती प्रतियोगिता पनि गराइने उनले बताए । जेठ १५ गतेसम्म साँझ ५ बजेदेखि राती साढे १० बजेसम्म महोत्सव सञ्चालन हुने खानले जानकारी दिए । महोत्सव रोहिणी–३ धकधईस्थित श्रीराम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको उत्तरतर्फ सञ्चालन हुने आयोजकले जनाएका छन् ।
महोत्सवमा विभिन्न ५० वटा स्टलका राखिने महोत्सवका संयोजक तथा रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रोहिणी वर्ष २०२४÷०२५ का सचिव हसामुद्दिन अलीले बताए । महोत्सवको प्रवेश शुल्क १ सय रुपैयाँ तोकिएको छ । विद्यार्थीलाई भने ८० रुपैयाँ तोकिएको उनले जानकारी दिए । उनले महोत्सवमा करिब २० लाख खर्च हुने बताए । ‘महोत्सवमा करिब ३० हजार बढी दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको छ । बाल उद्यान समेत राखिएको छ, ’उनले भने ।
महोत्सवमा रोहिणी मात्र नभइ यस आसपासका ओमसतिया गाउँपालिका, देवदह, सिद्धार्थनगर नगरपालिका, परासी र भारतसम्मका दर्शकहरुले अवलोकन गर्ने कार्यक्रम संयोजक अलीले बताए । महोत्सवको जेठ १ गते बिहीबार साँझ ६ बजे रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको उनले बताए । महोत्सवको संरक्षकमा रोहिणी गाउँपालिका रहेको छ ।
२०२२ सालमा स्थापना भएको रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रोहिणीले स्वास्थ्य शिविर, पर्यावरण सचेतना कार्यक्रम, रक्तदान लगायत कार्यक्रमहरु सञ्चालन गर्दै आएको क्लबका वर्ष २०२४÷२५ का कोषाध्यक्ष रुद्रराज सिग्देलले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij