२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

‘सबैले आफ्नो भूमिका निर्वाह गरे मात्र सडक दुर्घटना न्यूनीकरण हुन्छ’

बुधवार , जेठ १, २०८२

भैरहवा, ३१ वैशाख । सबैले आफ्नो जिम्मेवारी र भूमिका निर्वाह गरे मात्र सडक दुर्घटना न्यूनीकरण गर्न सकिने सरोकारवालाले बताएका छन् । उनीहरुले दुर्घटना न्यूनीकरण कुनै एउटा संस्था वा ट्राफिक प्रहरीको मात्र विषय नभएको बताए ।

सुरक्षित यात्रा नेपाल केन्द्रीय कार्यालय बुटवलको आयोजना, नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशको समन्वय, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही र तिलोत्तमा नगरपालिकाका, रुपन्देहीको सहकार्यमा बुधबार तिलोत्तमा–५ स्थित मणिग्राममा आयोजित ट्राफिक सचेतना र्‍याली तथा सडक दुर्घटना न्यूनीकरण अभ्यासमा सरोकारवालाले यस्तो बताएका हुन् ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले यो कार्यक्रम ज्यादै फलदायी रहेको र यसले सडक दुर्घटनालाई न्यूनीकरण गर्नेमा विश्वस्त रहेको बताए । ‘सडक दुर्घटना न्यूनीकरणमा तिलोत्तमा नगरपालिका संवेदनशील छ । नेपालमा सडक दुर्घटना दिनप्रतिदिन बढिरहेका छन्’उनले भने–‘सडक दुर्घटना बढ्नुमा नेपाल सरकार, यातायातका साधन, पैदलयात्री, चालक सबै जिम्मेवार छन् ।’ 

नगरप्रमुख खाणले तथ्यांक हेर्न हो भने नेपालमा अघिल्लो वर्ष सवारी दुर्घटनाबाट अघिल्लो वर्ष २ हजार ६ सय ४१ जनाको मृत्यु भएको र तीमध्ये ४० प्रतिशत २६ वर्षमुनीका युवा, विद्यार्थी तथा बालबालिका रहेको बताए । ‘यो ज्यादै कहालीलाग्दो अवस्था हो, हामी सबै गम्भिर हुनुपर्छ । उनले भने सडक दुर्घटना कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेतर्फ स्थानीय सरकार लागिपरेको छ’उनले भने–‘पैदलयात्रीलाई पनि यो बाटो प्रयोग गर्ने अधिकार छ भन्नेतर्फ हामीले ध्यान पुर्याउन सकिरहेका छैनौं ।’

त्यस्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजेन्द्र प्रसाद भट्टले नेपालमा वार्षिक औसतमा २ हजार ३ सय देखि २ हजार ५ सय व्यक्तिहरुको सवारी दुर्घटनाबाट मृत्यु हुने गरेको जानकारी दिए । त्यस्तै दुर्घटनाबाट २५ हजारदेखि २७ हजार व्यक्तिहरु घाइते हुने गरेको उनले बताए । डीआईजी भट्टले सवारी दुर्घटनाबाट मानिसको मृत्यु वा घाइते हुँदा आश्रित परिवार र समाजमा नै असर पुग्ने गरेको बताए । उनले सवारी दुर्घटनाले गम्भिर असरहरु पनि निम्त्यिाउने गरेको बताए । वर्षेनी नयाँनयाँ सडक बन्दै गएका छन् । ‘हजारौं, लाखौंको संख्यामा सवारीसाधन थपिदै गएका छन्’उनले भने–‘स्वभाविक रुपमा जति सडक प्रयोगकर्ता र सवारीसाधन थपिन्छन्, त्यति नै दुर्घटना बढ्दै गएको अवस्था छ ।’

उनले सडक प्रयोगकर्ता (पैदलयात्रु, चालक) सबैले आफ्नो जिम्मेवारी र भूमिका निर्वाह गरे मात्र सडक दुर्घटना न्यूनीकरण हुन सक्ने बताए । सडक दुर्घटना न्यूनीकरणको विषय कुनै एउटा संस्था वा ट्राफिक प्रहरीको विषय मात्र नभएको उनले बताए ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अयोध्या प्रसाद भण्डारीले एउटा चित्रले लाखौं सन्देश दिने बताए । उनले ट्राफिक नियमको पालना गर्नुको साथै आफूले जानेको कुरा अरुलाई पनि ज्ञान दिनुपर्ने बताए । उनले नागरिकलाई बुझाउन नसकिए अपूर्ण रहने बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको प्रमुख प्रहरी निरीक्षक रन्जु के.सी.ले विश्वमा मृत्युको आठौं कारण सवारी दुर्घटना भएको बताइन् । उनले सानो लापरवाहीले पनि दुर्घटना हुन सक्ने भएका कारण सचेत हुनुपर्नेमा जोड दिइन् । उनले बढ्दो सवारी दुर्घटना तथा क्षति न्यूनीकरणलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम गरिएको बताइन् ।

सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण प्रसाद बेल्बासेले सडक दुर्घटना न्यूनीकरण गर्ने अभियानमा सबै लाग्नुपर्ने बताए । उनले जसले कार्यक्रम गरे पनि आफूहरु साथ र सहयोग गर्ने बताए । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेलले सडक लेन अनुशासन पालना गर्नुपर्ने बताए । उनले सवारी दुर्घटना दिनप्रतिदिन बढ्दै गएको बताए ।

सुरक्षित यात्रा नेपालका दीपक ढकालले सुरक्षित यात्रा नेपालले विगत १२ वर्षदेखि सुरक्षित, सहज र मर्यादित यात्रालाई केन्द्रीत गर्दै कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले सडक दुर्घटना न्यूनीकरण गर्नका लागि संस्थाले विद्यार्थी, समाज र विभिन्न संघ–संस्था र नीति निर्माण लक्षित कार्यक्रम गर्दै आएको बताए । ढकालले सुरक्षा निकायसँग हातेमालो गर्दै अगाडि बढेको जानकारी दिए ।

IMG_5152.JPG
IMG_5137.JPG

कार्यक्रममा सवारी दुर्घटना सम्बन्धी सडक नाटक तथा नृत्य प्रस्तुति गरिएको थियो ।

IMG_5163.JPG
IMG_5169.JPG

तिलोत्तमाको शंकरपुर चोकदेखि मणिग्राम चोकसम्म ट्राफिक सचेतना र्‍याली आयोजना गरिएको थियो । र्‍यालीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न संघ–संस्था, विद्यार्थी, शिक्षक लगायतको सहभागीता रहेको थियो ।

IMG_5092.JPG
IMG_5119.JPG
IMG_5113.JPG
IMG_5089.JPG
IMG_5095.JPG
IMG_5125.JPG
IMG_5085.JPG
IMG_5084.JPG