२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

शैक्षिक सुधारका लागि सरोकारवालासँग अन्तरक्रिया

बुधवार , जेठ १, २०८२

तिलोत्तमा, ३१ वैशाख । राष्ट्रिय अभिभावक संघ तिलोत्तमाको आयोजनामा शैक्षिक सधारका लागि सरकोरवालासँग अन्तरक्रिया गरिएको छ । बुधबार आयोजित उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले शिक्षामा सुधार र विकासका लागि तिलोत्तमाले ठूलो लगानी गरिरहेको बताए । उनले विद्यार्थीलाई विद्यालय जानबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले मेयर छात्रवृत्ति कोष, कक्षा ६ सम्मका बालबालिकालाई २५ रुपैयाँका दरले खाजा सुविधा प्रदान गरिरहेको जनाए । 

‘शिक्षा सुधारका लागि बालबालिका स्वयं र अभिभावकसँगै शिक्षकको भूमिका महत्वपुर्ण हुन्छ,’उनले भने–‘घडी हेरेर पढाउने वातावरण शिक्षकले बन्द गर्नुपर्छ, अभिभावकले बालबालिकालाई समय दिनुपर्छ । पालिका लगानी गर्ने कुरामा पछि परेको छैन, सबैको प्रयास जरुरी छ ।’

त्यस्तै जिल्ला अभिभावक संघ रुपन्देहीका अधयक्ष भोजबहादुर बुढाथोकीले प्रविधियुक्त समाज निर्माणले बालबालिकाको पढ्ने शैलीमा परिवर्तन आएको बताए । उनले प्रविधिमैत्री अध्यापन, बालबालिकाको सर्वागींण विकासका लागि विद्यालय, शिक्षक, अभिभावक र सरकारले सोच्नुपर्ने बेला आएको जनाए । ‘हाम्रो सामूदायिक विद्यालयमा अध्ययनरत बाबुनानीको शैक्षिक विकास निजीको तुलनामा पछाडि रहेको स्वीकार्नैपर्छ’उनले भने–‘हामीलाई प्रविधिका सामग्री, शिक्षकलाई उही अनुसारको तालिम दिएर अघि बढ्न सकियो भने पढाईको गति सुध्रिदै जान्छ ।’

कार्यक्रममा बालबालिकाको शिक्षा सुधारका लागि कस्ता उपाय अपनाउनुपर्छ भन्ने विषयमा प्रशिक्षक चन्द्र अधिकारीले प्रस्तुति दिएका थिए । उनले शिक्षा सुधार सामान्य विषय नभएकाले यसमा सबै तहको उत्तिकै भूमिका रहने बताए । अन्तरक्रिया कार्यक्रममा नगरभित्रका दुई सय बढी अभिभावक, शिक्षक र सरोकारवालाको सहभागीता थियो ।