२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

तिलोत्तमालाई महिलामैत्री शहर बनाउन परियोजना

बिहिवार , जेठ २, २०८२

तिलोत्तमा, १ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई महिलामैत्री शहर बनाउनका लागि युनोप्सले छनोट गरेको छ । देशैभरीका ७ पालिकालाई छानेर समुदायमा आधारित महिलामैत्री शहर बनाउने अवधारणा अनुसार परियोजनाले तिलोत्तमाका दुईवटा वडामा पूर्वाधार निर्माणबारे समुदायसँग छलफल र सम्भाव्यता अध्ययन गरेको हो । 

पालिकाको वडा नम्बर ४ सिमानगरमा र वडा नम्बर ९ को मंगलापुरमा हाटबजारसहित महिलामैत्री आराम गृह, शौचालय, बालबालिकाको खेल्ने स्थान, सबैको पहुँचयोग्य पैदल लेन, बगैंचा आदि निर्माण हुनेछ । उक्त स्थानमा महिलाले उत्पादन गरेर विक्री गर्न मिल्ने खाद्य सामग्री तथा अन्य सामग्रीका लागि स्टल समेत निर्माण गरिने परियोजनाका कार्यक्रम विशेषज्ञ निलम धनुषेले बताइन । उनका अनुसार जुन स्थानमा उक्त पूर्वाधार बनाइन्छ, त्यसका लागि समुदायका महिला, पुरुष, युवा र बालबालिकासँग छलफल गर िउनीहरुले चाहेको पुर्व नक्शांकनमा आधारित संरचना बन्छ । ‘प्राविधिक, जलवायुका हिसाबले के हुन्छ भन्ने सम्भावना हामीले हेर्छौं, उनले भनिन्–‘यसमा ३० प्रतिशत पालिकाको लगानी मिसिने भएकाले समुदायका मानिसको सहभागीता अनिवार्य रहन्छ । यो प्रक्रियामा वडामा रहेको खुला स्थान पहिचान गरी त्यसमा संरचना बनाउन उपयुक्त छ वा छैन भन्ने अध्ययन गरिन्छ, त्यसपश्चात एक चरणको सामुदायिक नक्शा कोरेर प्राविधिक रुपमा त्यसलाई नक्शांकन गरी पुर्वाधार बनाइन्छ ।

यस्तो परियोजनाले समतामस्लक महिलामैत्री, लैंगिकमैत्री तिलोत्तमा नगर बनाउन सहयोग पुग्ने नग प्रमुख रामकृष्ण खाणले बताए । उनले देशभरीबाट तिलोत्तमालाई पनि छनोटमा पारेर परियोजनाले पूर्वाधार निर्माण गरिदिने कार्य खुसीयोग्य भएकाले यसमा नगरपालिकाले लगानी गर्न र युनोप्ससँग साझेदारी भूमिका खेल्न तयार रहेको जनाए । उनले यो साझेदारीले नेपालमा लैंगिक समानता र महिला सशक्तिकरणका लागि नयाँ मिसाल कायम गर्ने अपेक्षा गरेको बताए ।

यस परियोजनाका लागि ३ वर्ष समय अवधि तोकिएको छ । पहिलो चरणको काम सफल भए अन्य वडामा समेत नक्शांकन गरिने युनोप्सका आर्किटेक्ट मनिषा कार्कीले जनाइन् । यो पहल महिला, बालबालिका तथा सामाजिक रूपले पिछडिएका समुदायका लागि सुरक्षित, समावेशी र सुविधाजनक नगरपालिका निर्माण गर्ने उद्देश्यले गरिएको उनको भनाइ छ ।