२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

समृद्धिको दीक्षान्त समारोह : पुरस्कार घोषणादेखि विभिन्न व्यक्ति सम्मानित

मंगलवार , जेठ ७, २०८२

बुटवल, ६ जेठ । हेयर डिजाइन तथा सौन्दर्य कलाको क्षेत्रमा विगत ८ वर्षदेखि सेवा प्रदान गर्दै आएको रुपन्देहीको बुटवलस्थित समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीको दिक्षान्त समारोह अन्तरगत विभिन्न पुरस्कार प्रदान गर्नेदेखि बम्पर पुरस्कार विजेता घोषणा समेत गरिएको छ । 

सोमबार आयोजित एक समारोहकाबीच एकेडेमीबाट विभिन्न विषयमा आफ्नो तालिम समापन गरेका ३६६ जना प्रशिक्षार्थीहरुलाई दिक्षित गर्नुका साथै चारजनालाई पुरस्कार वितरण गरिएको छ । त्यस्तै समृद्धि स्कुटर उपहार योजनाको विजेता लक्की ड्र मार्फत घोषणा गरिएको हो । यस्तै समृद्धिलाई आईएसओ चिन्ह प्रदान गर्नुका साथै आफ्नै ब्युटी प्रोडक्ट लञ्च समेत गरिएको थियो ।

ख्यातिप्राप्त हास्य कलाकार सन्दीप क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रीले कार्यक्रमको औपचारिक उद्घाटन गर्दै हेयर ड्रेसिङलाई केवल सिप नभई आत्मनिर्भरता र सम्मानजनक रोजगारीको आधार भएको बताए । ‘शिक्षितसँगै सक्षम बन्ने अवसर यो कार्यक्रमले दिएको छ ।’–उनले भने ।

कपाल काट्ने मात्र नभइ व्यक्तित्व निर्माण गर्ने कलाका रुपमा यो पेशाको पहिचान बनेको भन्दै उनले नयाँ पुस्तामा हेयर स्टाइलको क्रेज बढ्दो रहेको बताए । ‘बजारमा यो पेशाको ठूलो सम्भावना बोकेको छ ।’–उनले भने । सीप नै लगानी बन्ने उदाहरण प्रस्तुत गर्दै उनले विश्वको जुनसुकै कुनामा गए पनि बेरोजगार बन्नु नपर्ने पेशा यो भएको दावी गरे । सेवा प्रवाहसँगै व्यवहार र विश्वास कायम राख्नुपर्नेमा पनि उनले जोड दिए।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले नीजि क्षेत्रबाट सेवाको माध्यमबाट राम्रो आम्दानी गर्न सकिने क्षेत्र भएको बताए । ड्डाडिज किचनका सञ्चालक युवा उद्यमी कमल जंग कुँवरले स्वदेशमा नै कायापलट गर्नेगरी काम गर्न आग्रह गरे । 

एकेडेमीका सञ्चालक मोहन ठाकुरले विगतमा व्यवसाय सुरुवातको चरणलाई स्मरण गर्दै समाजमा स्थापित हुँदासम्म आएको परिवर्तनका बारेमा बताए । हालसम्म २ करोड बढी लगानी रहेको समृद्धिले देशभर ५० जना बढीलाई प्रत्यक्ष रोजगार प्रदान गर्दै आएको छ । त्यसबाहेक समृद्धि सीप हासिल गरी स्वरोजगार बन्ने र रोजगार प्राप्त गर्नेहरुको संख्या पनि उल्लेख्य रहेको सञ्चालक ठाकुरले दावी गरे ।

समृद्धिले हाई पेड जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित बुटवलमा एकेडेमी समेत सञ्चालनमा ल्याएको बताउँदै यसले जनशक्तिलाई आम्दानीमा जोड्न मद्दत पुगेको बताए । एकेडेमीमा एकै पटक ४० जनासम्मलाई सीप प्रदान गर्न मिल्नेगरी संरचनासहित सञ्चालनमा आएको सञ्चालक ठाकुरले बताए ।

कार्यक्रममा नेपाल नाइ संघका अध्यक्ष जय श्याम ठाकुर, सौन्दर्य कला व्यवसायी संघका अध्यक्ष आशु गुरुङ, प्रशिक्षक मेनन लामालगायतले स्वरोजगार पेशाले आम्दानीमा राम्रो प्रभाव पर्ने उल्लेख गरेका थिए । 
समृद्धिको बम्पर उपहार ड्राईभरटोलकी जिसिलाई

समृद्धिले अब हरेक वर्ष एक जना ग्राहकलाई ‘लक्की–ड्र’बाट उपहार स्वरुप ३ लाख बराबरको सुजुकी एभिनर्स स्कुटर ड्राईभरकी मिना जिसीले प्राप्त गरेकी छन् । बुटवलको अमरपथमा मुख्य कार्यालयसहित पोखरा र मणिग्राममा शाखा तथा बर्दघाट र चार नम्बर कपिलवस्तुमा रहेका फ्रेन्चाइज सेवामार्फत ५ हजार जना मध्यबाट गोलाप्रथाबाट जिसिको नाम निस्केको हो । 

आईएसओ चिन्ह प्रदान

समृद्धिलाई आईएसओ ९००१ः२०१५  चिन्ह प्रदान गरिएको छ । दीक्षान्त समारोहमा आईएसओ प्रतिनिधि टिकाराम शर्माले समृद्धि एकेडेमीले निर्धारित मापदण्डअनुसार गुणस्तरीय तालिम प्रदान गरेको पुष्टि गर्दै प्रमाणपत्र हस्तान्तरण गरे । उनले न्यूनतम ५० प्रतिशत पुरा गरेको संस्थालाई दिन सकिने भन्दै समृद्धिले मापदण्ड पुरा गरेसँगै प्रमाणपत्र वितरण गरिएको जानकारी दिए । उनले समृद्धिलाई बधाइ दिँदै शतप्रतिशत पुरा गरेर सर्वोत्कृष्ट बन्न आग्रह गरे । 

पत्रकार पन्थीसहित तीनजना सम्मानित

समृद्धिको दिक्षान्त समारोहमा पत्रकार पूजा पन्थीसहित चारजना सम्मानित भएका छन् । लुम्बिनी प्रेसका प्रबन्ध सम्पादक तथा दैनिक पत्र दैनिकका डेक्स संवाददाता पन्थी सौन्दर्यकला पत्रकारिता पुरस्कारबाट सम्मानित भएकी हुन् । पन्थीलाई नगद १५ हजार रुपैयाँसहित दोसल्ला र प्रमाणपत्रले सैलुन तथा एकेडेमीका सञ्चालक मोहन ठाकुर, प्रमुख अतिथि ख्यातिप्राप्त हाँस्य कलाकार सन्दीप क्षेत्री, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले सम्मान गरेका हुन् । 

त्यस्तै अग्रज सम्मान अन्तरगत पुरानो ब्युटिसियन तथा पुुरानो नाइ सम्मान गरिएको थियो । त्यस्तै देवी श्रेष्ठ र पुरानो छविलाल नाउ ठाकुरलाई नगद १५/१५ हजार रकम सहित सम्मान गरिएको हो । समृद्धिले यो वर्षदेखि नयाँ कार्यको थालनी स्वरुप उत्कृष्ट कर्मचारी सम्मान कार्य अगाडी बढाएको छ । जसमध्ये उत्कृष्ट कर्मचारीलाई १ लाख राशीको पुरस्कार प्रदान गरिने सञ्चालक ठाकुरले घोषणा गरे । सोही पुरस्कार समृद्धि बुटवल शाखामा कार्यरत देवा ठाकुरलाई प्रदान गरिएको छ । नगद १ लाख रुपैयाँ सहितको सम्मानले कर्मचारीहरुले उत्कृष्ट सेवा प्रदान गर्ने अपेक्षास्वरुप मनोबल बढाउनका लागि सम्मान गरिएको सञ्चालक ठाकुरले बताए । 

आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च

समृद्धिले आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनलका हेयर केयर प्रोडक्टहरु लञ्च गरेको छ । दीक्षान्त समारोहमा कपालको स्वास्थ्य, उपचार र सुरक्षा गर्ने गरी निर्माण गरिएको यस प्रोडक्टका विभिन्न ४ प्रकारका उत्पादनहरु रहेका छन् । स्याम्पु, कन्डिस्नर, हेयर ट्रिटमेन्ट माक्स, अर्गन हेयर ओएल रहेका छन् । भिटामिन ई र कोलगेनयुक्त रहेको सञ्चालक ठाकुरले दावी गरे ।