
मंगलवार , जेठ ७, २०८२
भैरहवा, ६ जेठ । भैरहवा बहुमुखी क्याम्पसमा रिसर्च म्यानेजमेन्ट सेलको आयोजनामा ए दिने अनुसन्धानमूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा क्याम्पसमा कार्यरत शिक्षक तथा प्राध्यापकहरूको सक्रिय सहभागीता रहेको थियो ।
कार्यक्रममा विशिष्ट प्रशिक्षक उप–प्राध्यापक श्री बाबुराम भण्डारीले कोर्स इम्पलीमेन्टेशन प्लान (सीआईपी) को निर्माण प्रक्रिया र कक्षाकोठामा सहजीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए । उनले शिक्षण योजनालाई व्यवस्थित रूपमा लागू गर्ने तरिका र कक्षा सञ्चालनका व्यवहारिक पक्षहरूबारे जानकारी गराएका थिए । साथै, अर्का विज्ञ डा. देवराज आचार्यले अनुसन्धान लेख प्रकाशनसम्बन्धी महत्वपूर्ण पक्षहरूबारे प्रशिक्षण दिएका थिए । उनले अन्तर्राष्ट्रिय जर्नलहरूमा लेख प्रकाशन गर्दा ध्यान दिनुपर्ने विषयहरू, लेखको संरचना, भाषा, स्रोतको प्रयोग, र समीक्षाको प्रक्रिया आदि स्पष्ट पारेका थिए ।
उक्त कार्यक्रममा करिब ६० जना प्राध्यापकहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको प्रमुख आतिथ्य क्याम्पस प्रमुख लक्की प्रसाद जोशीज्यूले गरेका थिए भने अध्यक्षता रिसर्च म्यानेजमेन्ट सेलका प्रमुख डा. पिताम्बर तिवारीले गरेका थिए । कार्यक्रमको सञ्चालन क्यूएए प्रमुख डा. मुक्ति पौडेलले गरेका थिए ।
सहभागी प्राध्यापकहरूले यस्ता कार्यक्रमहरूले अनुसन्धानमा लाग्ने प्रेरणा दिने, लेख प्रकाशन प्रक्रियामा स्पष्टता ल्याउने तथा शिक्षण कार्यलाई अझ प्रभावकारी बनाउन मद्दत पुग्ने प्रतिक्रिया दिएका थिए । क्याम्पस प्रशासनले यस्ता कार्यक्रमलाई निरन्तरता दिदै अनुसन्धान संस्कृतिको प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij