२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अक्सफोर्ड माविमा नमुना निर्वाचन कार्यक्रम सम्पन्न

मंगलवार , जेठ ७, २०८२

बुटवल, ६ जेठ । रुपन्देहीको बुटवलस्थित सुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयमा नमुना निर्वाचन–२०८२ कार्यक्रम गरेको छ । विद्यार्थीलाई लोकतान्त्रिक निर्वाचन अभ्यास र निर्वाचन प्रक्रियाबारे विद्यालयमै व्यवहारिक ज्ञान दिने उद्देश्यले विद्यालयले मंगलबार नमुना निर्वाचन कार्यक्रम गरेको हो । 

कार्यक्रम अन्तरगत निर्वाचन प्रक्रिया, उम्मेदवारी दर्ता, उम्मेदवारविरुद्ध दावी विरोध, निर्वाचन आचारसंहिता, उम्मेदवार छनोट, मतदान लगायतका गतिविधिहरु गरेर विद्यालयमा नमुना निर्वाचन गरिएको विद्यालयका प्राचार्य दिनेश भुसालले जानकारी दिए । विद्यार्थीलाई वर्तमान देशको अवस्था र जनताका प्रतिनिधिहरु कसरी चुनिनछन् भन्नेबारे प्रत्यक्ष जानकारी गराउने उद्देश्यले विद्यार्थीको प्रत्यक्ष सहभागितामा नमुना निर्वाचन कार्यक्रम गरिएको उनले उल्लेख गरे । प्राचार्य भुसालले नमुना निर्वाचनसँगै, अदालती अभ्यास, संसदीय अभ्यास, विद्यालयमा मेयर, उपमेरलगायतका कार्यक्रमहरु पनि निरन्तर गर्दै आएको बताए ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको नमुना निर्वाचन कार्यक्रम २०८२ र लोकतन्त्र र संविधान विषयक विद्यार्थी अभिमुखीकरण कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष यज्ञप्रसाद पंगेनीले अहिलेको अवस्थामा असल र सही प्रतिनिधि चुन्ने समय भएको बताए । उनले सही नेतृत्व चुनेमा त्यसको प्रभाव सकारात्मक हुने भएकाले लोकतान्त्रिक निर्वाचन प्रणालीमा प्रतिनिधि चुन्ने अधिकार स्वयंलाई हुने भएकाले असल, सही र जनउत्तरदायी नेतृत्व चुन्नु अहिलेको आवश्यकता भएको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका शिक्षा शाखाका अधिकृत यादवचन्द्र विष्ट, अभिभावक संघ लुम्बिनी प्रदेशका अध्यक्ष हेम थापा, अक्सफोर्ड कलेज सञ्चालक समितिका अध्यक्ष अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, सिद्धबाबा मावि तम्घासका प्राचार्य डोरविक्रम श्रीस, प्राध्यापक सुमन भुसाल, रवि अर्याललगायतले विद्यार्थीलाई नमुना निर्वाचनमा सहभागी बनाउनु उदाहरणीय कार्य भएको भन्दै निर्वाचनको परिवेक्षण गरेका थिए । 

कक्षा ५ देखि ९ सम्मका विद्यार्थीहरुले कक्षागत मोनिटर, विभिन्न सदन संयोजक र कक्षा ५ देखि ९ सम्मका विद्यार्थीले आ–आफ्ना लिडरलाई चुन्ने गरी नमुना निर्वाचन गराइएको शिक्षक लक्ष्मण घिमिरेले जानकारी दिए । विद्यालयका सह–प्राचार्य मोहन क्षेत्री निर्वाचन अधिकृत रहेको निर्वाचन कार्यक्रममा विद्यालय प्रिफेट, हाउस क्याप्टेन, भाइस क्याप्टेन, तहगत विद्यालय प्रिफेट गरी १० पदका लागि ४६ जना विद्यार्थीहरुले दिएको उम्मेदवारीमा नमुना निर्वाचन कार्यक्रम भएको शिक्षक कपिल ढकालले जानकारी दिए ।
 
सोही कार्यक्रमको अवसर पारेर निर्वाचनमा सहभागी विद्यार्थीहरुलाई लोकतन्त्र, संविधान र निर्वाचन प्रक्रिया विषयक एकदिने अभिमुखीकरण कार्यक्रम समेत गरिएको विद्यालयले जनाएको छ ।