२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सडक क्षेत्राधिकारभित्रका संरचना हटाउन आवश्यक सहजीकरण गरिदिन आग्रह

मंगलवार , जेठ ७, २०८२

भैरहवा, ६ जेठ । रुपन्देहीको मायादेवी गाउँपालिका ४ नम्बर वडा कार्यालय सुण्डी, रुपन्देहीले सडकको क्षेत्राधिकार पर्ने स्थायी/अस्थायी संरचना नहटेकाले संरचना हटाउनका लागि आवश्यक सहजीकरण गरिदिन गाउँपालिकाको कार्यालयसँग अनुरोध गरेको छ । मायादेवी–४ का कार्यबाहक वडाअध्यक्ष कन्हैया लोधले मंगलबार मायादेवी गाउँ कार्यपालिकाको कार्यालयलाई पत्र लेख्दै आवश्यक सहजीकरण गर्न आग्रह गरेका हुन् ।

गाउँपालिकाले २०८२ वैशाख २८ गते सूचना प्रकाशन गरी सूचना प्रकाशन भएको पाँच दिनभित्र घर टहरा हटाउन अनुरोध गरे पनि हालसम्म पनि उक्त स्थानबाट सडकको क्षेत्रात्रिकार पर्ने संरचना नहटेको लोधले बताए।

मायादेवी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष अरुण कुमार तिवारीले केही दिन अघि सामाजिक सञ्जाल फेसबुकमार्फत पनि सार्वजनिक सडक अतिक्रमण गरिएको क्षेत्र खाली गराउन आग्रह गरेका छन् ।

‘मायादेवी वडा नम्बर ४ वडा समितिको तर्फबाट गुण्डी टोलबासीहरुलाई विनम्र अनुरोध कि सार्वजनिक सडकको नाप नक्सा अनुसार अतिक्रमण गरिएको क्षेत्र खाली गरिदिनुहोला, यो हाम्रो भविष्यको सवाल हो, ’उनले भनेका छन् । 

त्यस्तै केही दिन अघि मायादेवी गाउँपालिका वडा नम्बर ४ का स्थानीयले विज्ञप्ती जारी गर्दै सडकमा अनाधिकृत रुपमा निर्माण गरिएका घरटहरा हटाएर हटाएर सडक निर्माण कार्यमा सहयोग गर्न गाउँपालिकासँग माग राखेका छन् । उनीहरुले गाउँपालिकाले पाँच दिनभित्र सडकको क्षेत्राधिकारभित्र पर्ने घरटहरा हटाउन सूचना जारी गरेको सूचना कार्यान्वयन गराइ निर्माण कार्यमा सहयोग गर्न माग गरेका हुन् ।

बाटो निर्माण कार्यमा सहयोग नगरेमा गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने र गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्ने सडक निर्माण सहजीकरण समिति मायादेवी–४ का संयोजक संजय कुमार मिश्रले बताए ।

‘रुपन्देहीकोे मायादेवी गाउँपालिका वडा नम्बर ४ अन्तर्गत लुम्बिनी सडकदेखि उत्तर गुण्डी हुँदै गैडहवा गाउँपालिका र सियारी गाउँपालिका जोड्ने सडक निर्माण कार्य सम्झौता भइ कार्यान्वयनको चरणमा रहेकोले सडक बाटोको क्षेत्राधिकारभित्र पर्ने सबै स्थायी तथा अस्थायी संरचना हटाएर सडक निर्माण कार्यमा सहजीकरण गर्ने गरी वडा नंं ४ का अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य एवं गाउँका भद्रभलादमीहरुको भेलाले बाटो निर्माण सहजीकरण समिति गठन गरी गाउँपालिकाबाट नापी नक्साको काम सम्पन्न भइसकेपछि गाउँपालिकाले मिति २०८२ वैशाख २८ गते सडकको क्षेत्राधिकारभित्र पर्ने स्थायी/अस्थायी घरटहरा पाँच दिनभित्र हटाउने निर्णय समेत जारी गरेको हामी सबैलाई जानकारी नै छ, ’विज्ञप्तीमा उल्लेख छ ।

अहिले आएर गाउँपालिका अध्यक्षले आफ्नो राजनीतिक दलका केही सदस्यहरुको सडक बाटोमा पर्ने घरटहरा हट्ने देखिएपछि सडक बाटो खाली गराउने निर्णयबाट पछि हट्न खोजेको उनीहरुको आरोप छ । मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीले विकास निर्माण कार्यमा कुनै अवरोध नगरेको दावी गरे ।