२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

निर्माणसम्पन्न हुँदै हेलम्बुका गुम्बाहरु

बिहिवार , जेठ ९, २०८२

हेलम्बु, ८ जेठ । गत सोमबार र मंगलबार दुई दिन लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ), भारतीय दूतावासका प्रतिनिधि नारायण सिंह, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधिसहित सिन्धुपाल्चोकमा निर्माण भएर अन्तिम चरणमा पुगेका गुम्बाहरुको निरीक्षण गरेका छन् ।

पाँच सय वर्ष भन्दा पुराना ऐतिहासिक गुम्बाहरु २०७२ सालको महाभूकम्पबाट पूर्ण रूपमा भत्किएपछि पर्यटकीय महत्व बोकेका बहुमूल्य गुम्बाहरु निर्माण नहुँदा त्यहाँका स्थानीयहरुले त्यसको प्रत्येक असर भोग्नुपरेको थियो ।

पर्यटन क्षेत्रमा मात्र नभइ जन्मदेखि मृत्यु संस्कारसम्म बौद्ध धर्मावलम्बीहरुको सम्बन्ध जोडिएको पवित्र गुम्बाहरु भत्किदा धार्मिक क्षेत्रमा प्रत्यक्ष असर पुगेको भन्दै भुकम्पपछि करिब १० वर्षको निरन्तर सक्रिय मेहनत र समन्वयबाट लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले गुम्बा निर्माण कार्यसम्पन्न गर्ने अन्तिम चरणमा पुर्याएका छन् ।

भारत सरकारको सहयोग तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण राष्ट्रियस्तरको भवन निर्माण एकाइले आज भन्दा पाँच वर्ष अघि १४ अक्टोबर २०२० मा ठेक्का आह्वान गरेर गुम्बाहरुको पुनर्निर्माण कार्यको सुरुवात गरेको थियो ।

गुम्बा पुनर्निर्माणका लागि भारत सरकारले प्रत्येक गुम्बालाई १० करोडभन्दा बढी रकम विनियोजन गरेको भए पनि नेपाल सरकारले ठेक्का आह्वान गर्दा घटेर चिरी गुम्बा ६ करोड ४५ लाख, शेर्माथाङ गुम्बा ५ करोड ५० लाख र तार्के घ्याङ गुम्बा करिब ७ करोडमा ठेक्का सम्झौता भएको थियो ।हाल हेलम्बु गाउँपालिकाको चिरी गुम्बा, तार्के घ्याङ गुम्बा र शेर्माथाङ लगायत  सिन्धुपाल्चोकका तीन पौराणिक गुम्बाको निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् ।

हेलम्बु गाउँपालिकामा निर्माणाधीन तीन पौराणिक गुम्बामध्ये चिरी गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सितार लामाको अनुसार चिरी गुम्बामा गजुर राख्ने, गुम्बाभित्र मूर्ति प्रतिस्थापन गर्ने र फिनिसिङ, पेन्टिङ र विभिन्न कलाकृतिको काम सम्पन्न भएर निर्माण कार्यको अन्तिम चरणमा रहेको छ । 

चिरी गुम्बा निर्माण सम्पन्न भएपछि झण्डै १५८ घरधुरी (जजमान) सहभागी भएर वार्षिक झण्डै आधा दर्जन भन्दा बढी लामो तथा छोटो अवधिको नियमित पूजा सम्पन्न गर्ने  स्थानीयले बताए । स्थानीयका अनुसार गुम्बा निर्माणपछि विदेशी पर्यटकहरु ध्यान तथा पूजा कार्यक्रममा सहभागी भएर लामो अवधिसम्म यस गाउँमा रहेन छन्, जसको कारण पर्यटन प्रबद्र्धन र विकास पुरानै लयमा फर्किने विश्वास व्यक्त गरेका छन् । 

त्यस्तै तार्केघ्याङ गुम्बा करिब ७ करोडमा ठेक्का सम्झौता भए अनुसार निर्माण कार्यको अन्तिम चरण रहेको तार्केघ्याङ गुम्बाका प्रमुख लामा कृसङ्ग लामाले बताए । उनका अनुसार तार्केघ्याङ गुम्बाको प्राङ्गण निर्माण र केही आर्टको काम ठेक्का सम्झौतामा छुट भएको कारण केही ढिला भए पनि लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ्ग) को पहलले केही चन्दा संकलन भएको र भारत सरकारको सहयोग हुने प्रतिवद्धता प्राप्त भएको कारण बाँकी काम केही दिनमै सम्पन्न हुने बताए ।

त्यस्तै शेर्माथाङ गुम्बा निर्माणमा ५ करोड ५० लाख सम्झौता भए अनुसार सबै निर्माणको अन्तिम चरणमा रहेको  शेर्माथाङ गुम्बाका प्रमुख लामा सार्की लामाले बताए । उनका अनुसार हेलम्बुमा पुनर्निर्माण भइरहेका ऐतिहासिक गुम्बा ५ सय वर्षसम्मका पुराना हुन् । यी गुम्बा पुरातत्व विभागले दिएको डिजाइन अनुसार प्राचीन शैलीमा नै पुनःनिर्माण भएको छ । अग्राख काठ, चुनासुर्की र ढुंगामाटो प्रयोग बनाइएको गुम्बा भुकम्प प्रतिरोधात्मक हो ।

हाल हेलम्बुका गुम्बाहरुमा साना तथा ठूला गरी पुरातात्विक दर्जनौं बुद्धको मूर्ति रहेका छन् । भूकम्पले गुम्बा ढलेपछि मूर्ति तथा महत्वपूर्ण सामग्री सहितको धार्मिक ग्रन्थहरु  टहरामा राखिएका छन् । गुम्बाहरुको पुनः निर्माणले हेलम्बुका स्थानीयहरु खुसी भएका छन् भने पर्यटकहरु उत्साहित भएका छन् ।