२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बुटवल हस्पिटलमा एकैपटक दुवै घुँडा प्रत्यारोपण

बिहिवार , जेठ ९, २०८२

बुटवल, ८ जेठ । बुटवल हस्पिटल प्रा.लि.मा पहिलोपटक दुवै घुँडाको एकैपटक सफल प्रत्यारोपण भएको छ । वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर उत्सव रेग्मी नेतृत्वको टीमबाट दुवै खुट्टाको घुँडामा हुने जोर्नीको प्रत्यारोपण गरिएको हो । यस्तो शल्यक्रिया बुटवल क्षेत्रमा सम्भवत पहिलोपटक भएको डा.रेग्मीको दावी छ । 

विश्व प्रसिद्ध अमेरिकन कम्पनी म्याक्सको कृतिम जोर्नीको प्रयोग गरी बिग्रिएको जोर्नीलाई विस्थापित गरी नयाँ जोर्नीको निर्माण गरिएको डाक्टरको भनाइ छ । गुल्मीको दरबार गाउँपालिका स्थायी घर भइ रुपन्देहीको बुटवलस्थित बेलवरियामा बस्दै आउनुभएकी ५३ वर्षिया पुर्णकला सोमैको बुटवल हस्पिटलमा शल्यक्रिया भएको हो । उहाँ लामो समयदेखि जोर्नी खिइने रोग अस्टिओआर्थाइटिसुबाट पीडित हुनुहुन्थ्यो । 

घुँडामा धेरै दुखाइ हुनुका साथै जोर्नी बांगो भएर हिंडडुल गर्न नसक्ने भएपछि उपचारको निम्ति उहाँले अस्पतालहरुमा धाउन थाल्नुभएको थियो । बुटवल हस्पिटलमा यस्तो खालको घुँडाको प्रत्यारोपण हुन्छ भन्ने कुरा चिकित्सकहरुबाट सुनेदेखि नै उहाँमा आफू पहिलेकै अवस्थामा फर्किन्छु कि भन्ने आशा पलाएको थियो । 

घुँडाको प्रत्यारोपण भएको पाँच दिनपछि नै उहाँ सामान्य सहारामा हिंड्डुल गर्न थालिसकेको पुर्णकलाका श्रीमान् भुवन सिंहले बताउनुभयो । अस्पतालबाट घर फर्किने बेला सामान्य हिंड्डुल गर्नुभएकी पुर्णकलाले आफू पहिलेको अवस्थामै फर्किन लागेको भन्दै खुशी व्यक्त गर्नुभयो । कुराकानीका क्रममा उहाँले भन्नुभयो –‘पहिला त म अब बाचुञ्जेल यस्तै कुजि भएर बस्नुपर्ने होला भन्ने थियो । तर, बुटवल हस्पिटलमा भएको उपचारपछि मैले अर्को जन्म पाएको महसुस भएको छ ।’ उहाँले थप्नुभयो ‘पहिला त घुँडा नुग्ने नै थिएन त्यसैले हिंड्डुलको त कुरै भएन एकै ठाउमा बसेको बसै गर्ने गर्दथे । ’ 

शल्यक्रियामा डा. रेग्मीसँगै बुटवल हस्पिटल प्रा.लि.मा कार्यरत हाडजोर्नी रोग विशेषज्ञ डा. समिर उल्लाह र डा. दिपेन्द्र यादव तथा बुटवल हस्पिटलकै डा. प्रल्लाद अधिकारीको एनेस्थेसियाको टीमले शल्यक्रिया गरेको हो । बुटवल हस्पिटलमा कार्यरत डा. रेग्मीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालबाट जोर्नीसम्बन्धी समस्यामा फेलोसिप तालिम लिनु भएको छ । 

घुँडा प्रत्यारोपणपछि डा. रेग्मीले पहिलोपटक दुवै घुँडाको एकैपटक सर्जरी भएकोले काठमाडौंका चिकित्सकहरुको समेत सहयोग लिएको बताउनुभयो । उहाँले अबका दिनमा यस्तो शल्यक्रिया (अप्रेशन) का लागि हस्पिटलकै टीम तयार हुने पनि बताउनुभयो । 

WhatsApp Image 2025-05-22 at 3.08.02 PM.jpeg

कृत्रिम जोर्नी (इल्म्पलान्ट) अलि महंगो पर्ने भए पनि काठमाडौं भन्दा सस्तो मूल्यमा बुटवलमा घुँडाको प्रत्यारोपण सर्जरी भएको हो । सुलभ दरमा कृत्रिम जोर्नी (इल्म्पलान्ट) उपलब्ध गराउन सरकार या सरोकारवाला नियकाले पहल गरेमा यस्तो समस्याबाट दुःख पाएका बिरामीका लागि जोर्नी प्रत्यारोपण शल्यक्रिया बरदान सावित हुने बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्न प्रसाद पौडेलले बताउनुभयो । हाडजोर्नी समस्यामा यसप्रकारको अत्याधुनिक तथा जटिल शल्यक्रिया बुटवलमा हुने भएपछि महंगो खर्चमा उपचारको निमित्त काठमाडौं वा भारतका विभिन्न ठाउँमा भौतारिनुपर्ने अवस्थाको अन्त्य भएको उहाँको भनाइ छ ।