
शुक्रवार , जेठ १०, २०८२
भैरहवा, ९ जेठ । सिद्धार्थ सञ्जाल, रुपन्देहीले आफ्नो दोस्रो स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संस्थाले शुक्रबार सिद्धार्थनगरको विकास र शान्ति सुरक्षाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
त्यस्तै शुक्रबार नै सञ्जालको सिद्धार्थनगर नगरपालिका–७ स्थित नयाँ कार्यालयको उद्घाटन गरिएको छ । यसअघि भैरहवाको देवकोटाचोकबाट सञ्चालन हुँदै आएको सञ्जालको कार्यालय अब भने नारायणपथबाट सञ्चालन हुने भएको हो । कार्यालयको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले उद्घाटन गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर उपप्रमुख अधिकारीले सबैले मेरो पनि नगरपालिका हो र नगरप्रति मेरो दायित्व छ भन्ने बुझ्नुपर्ने बताउनुभयो । ‘विकास क्रमिक रुपमा हुन्छ, ’उहाँले भन्नुभयो–‘भौतिक विकास मात्र नभइ सामाजिक विकासको कुरा पनि गर्नुपर्छ ।’ उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुनुपर्ने र यसका लागि सिद्धार्थनगर नगरपालिकाले निरन्तर पहल गरिरहेको बताउनुभयो । अधिकार खोज्ने क्रममा आफ्नो कर्तव्यको बारेमा पनि बुझ्नुपर्ने उहाँको भनाइ थियो ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अयोध्या प्रसाद भण्डारीले ओभरलोड गाडीका कारण पुल र सडक भत्किने भएकाले भार मिलान गरेर सवारी चलाउनुपर्ने बताउनुभयो । ‘आफ्नो हकहितको कुरा गर्दा अरुको हकहितबारे पनि सोचौं, ’उहाँले भन्नुभयो–‘हामी आफ्नो कानून अनुसार चल्छौं । राष्ट्र र राष्ट्रियतालाई सम्झेर अगाडि बढ्नपर्छ ।’ सिद्धार्थ सञ्जालले विभिन्न विकास निर्माण कार्यमा झकझकाउने गरेको उहाँले बताउनुभयो ।
सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले यस क्षेत्रको विकासका लागि सञ्जालले सरकारी कार्यालय तथा विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै आएको बताउनुभयो । उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सिद्धार्थनगर नगरपालिकाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ज्ञवालीले सिद्धार्थनगरमा पार्किङलाई व्यवस्थित बनाउनुपर्ने तथा फोहोरमैला व्यवस्थापनका लागि फोहोरमैला प्रशोधन केन्द्र बनाउनुपर्ने बताउनुभयो ।
भैरहवा मर्निङवाक ग्रुपका अध्यक्ष विजय गोविन्द श्रेष्ठले ओभरलोड भारतीय सवारीसाधनका कारण नेपालका पुल, सडक भत्किएको बताउनुभयो । उहाँले जरिवाना तिराएर सडकको क्षमता भन्दा बढी ओभरलोड सवारीसाधन चलाउन दिन नहुने बताउनुभयो । भार मिलान गर्ने निर्णय स्वागतयोग्य भएको उहाँको भनाइ थियो । उहाँले भैरहवाको हाटबजारमा निर्मित भवन प्रयोगमा नआएको र हाटबजार संस्कृति मास्ने काम भएको बताउनुभयो ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाँले भौतिक विकास मात्र नभइ सामाजिक विकासमा जोड दिनुपर्ने धारणा राख्नुभयो । भैरहवाको विकास र समृद्धिका लागि सिद्धार्थ सञ्जाल निरन्तर अगाडि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगरका अध्यक्ष तथा सिद्धार्थ सञ्जालका महासचिव मधु प्रसाद पन्थीले निजी क्षेत्र र सरकारबीच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने बताउनुभयो । उहाँले सम्बन्धित सरोकारवालाको सहभागीतामा निर्णय गर्दा प्रभावकारी हुने बताउनुभयो ।
सिद्धार्थ सञ्जालका कोषाध्यक्ष सतिश कुमार कौसल (दीपक)ले भैरहवामा पर्यटक भुल्ने ठाउँ बनाउनुपर्ने बताए । किराना तथा प्लाष्टिक व्यवसायी संघ भैरहवाका सचिव झबिन्द्र प्रसाद बेल्बासेले प्रयोग नगरिने भवन किन बनाइएको भन्दै प्रश्न गर्नुभयो । उहाँले समानुपातिक विकास आवश्यक भएको बताउनुभयो । सिद्धार्थ सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले नेपाल आउने पर्यटकलाई एकद्वार प्रणालीबाट चेकजाँच हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी, नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका उपाध्यक्ष जे.पी. कंडेल, चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का महासचिव लक्ष्मी अधिकारी, सिद्धार्थ सञ्जालका उपाध्यक्ष संजय बजिमय लगायतले भनाइ राख्नुभएको थियो ।
सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, कार्यक्रम संयोजक एवं सञ्जालका कार्यसमिति सदस्य केशवराज ज्ञवालीको स्वागत तथा महासचिव मधु प्रसाद पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij