
शनिवार , जेठ ११, २०८२
भैरहवा, १० जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ पक्लिहवास्थित श्री पक्लिहवा माध्यमिक विद्यालयमा विद्यार्थीहरुको मनोसामाजिक सुस्वास्थ्यसम्बन्धी गोष्ठी’ सम्पन्न भएको छ । नमुना एकीकृत विकास परिषद भैरहवा, रुपन्देहीको प्राविधिक सहयोगमा शुक्रबार उक्त गोष्ठी भएको हो ।
विद्यालयका सह–प्रधानाध्यापक शेर बहादुर थापाको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं युवा समाजसेवी सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि गुरुङ्गले यस्ता कार्यक्रमले विद्यार्थीहरुभित्र सुसुप्त रुपमा रहेका भावनालाई उजागर गर्न प्रेरित गर्ने, एक्लोपना, तनाव, डराउने, निद्रामा गडबढी आदिको व्यवस्थापनमा उनीहरुलाई मद्दत पुग्ने भएकोले अमुल्य जीवनको महत्वलाई आत्मसाथ गर्दै सकारात्मक र श्रृजनात्मक क्रियाकलापमा अग्रसर हुन प्रेरित गर्ने बताउनुभयो ।
कार्यक्रममा नमुना एकीकृत विकास परिषदका सहजकर्ता राजेश जि.सी. र विनीका बुचा मगरले कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई मनोसामाजिक सुस्वास्थ्य भनेको के हो ? मनोसामाजिक समस्या कस्ता हुन्छन्, यसका गम्भिरता कसरी पत्ता लगाउने, यसका कारण, लक्षण र असर कस्ता हुन्छन्, मनोविमर्श के, किन र कसको लागि ? यसका मान्यता, स्व–हेरचाह र आत्म–हेरचाह आदिका बारेमा परामर्श तथा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा विद्यालयका शिक्षिका गीता पौडेल, शिक्षक बासुदेव घिमिरे, प्रकाश भुर्तेल लगायतको सहभागीता थियो । कार्यक्रममा नमुना एकीकृत विकास परिषदकोतर्फबाट विद्यालयलाई पानी खाने जार, सरसफाईका विभिन्न सामग्रीहरु पनि प्रदान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij