
शनिवार , जेठ ११, २०८२
तिलोत्तमा, १० जेठ । रुपन्देहीमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको आवधिक प्रगति समीक्षा र कार्ययोजना तर्जुमा कार्यक्रम शुक्रबार सुरु भएको छ । लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको आयोजनामा सुरु भएको कार्यक्रम दुई दिनसम्म चल्नेछ ।
उक्त कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले वैदेशिक रोजगारीमा जाने इच्छा भएकाले कुन बाटो अपनाएर जाँदा वेश हुन्छ भन्ने कुरा बुझ्न जरुरी रहेको बताउनुभयो । उहाँले सुरक्षित तरिकाबाट विदेश जान नसक्दा नेपालीले विभिन्न समस्या खेप्नुपरेकाले सही बाटो र सही मानिस ठम्याएर मात्र विदेश जान सुझाउ दिनुभयो । नगरप्रमुख खाणले नेपालीले विदेशमा कमाएको पैसा सदुपयोग गर्न नजानेर नेपालीले दुःख पाइरहेको बताउनुभयो । उहाँले नेपाली नागरिकले विलासिताको जीवनयापनमा ध्यान दिदा कमाएको पैसा नजोगिने, पारिवारिक तथा सामाजिक समस्या उब्जने र यसले सिंगो समाज नै पीडित हुने बताउनुभयो ।
नगरप्रमुख खाणले सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जानुपर्ने बताउनुभयो । अध्ययनका लागि होस् वा कमाउनका लागि सीप सिकेर गएका नागरिकले समस्या झेल्न नपर्ने भएकाले त्यसतर्फ संघीय सरकारले नै ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
त्यस्तै मन्त्रालयका सचिव नारायण गौतमले वैदेशिक रोजगारीमा देखिएको सकारात्मक विषयलाई मजबुत बनाउने र नकारात्मक विषय पत्ता लगाई समस्या हल गर्न मन्त्रालय लागिरहेको बताउनुभयो । उहाँले सामी कार्यक्रमले विदेशमा जान चाहने र फर्केर आएपछि के गर्ने भनेर अन्यौलमा परेकालाई उचित परामर्श, सिप सिकाई तथा रोजगारी सृजनाको वातावरण बनाएको बताउनुभयो । उहाँले विदेशबाट सिप लिएर आएकाको सीप परीक्षण गरी यहाँ प्रशिक्षकको रुपमा विकास गर्न मन्त्रालयले काम गरेको जानकारी दिनुभयो । आगामी नीति बनाउँदा सामीमा कार्यरत रोजगार संयोजकको सुझाव पाए, के गर्नुपर्ने वा नगर्ने भन्नेमा प्रष्ट भएर अघि बढ्न सहज हुने उहाँको भनाइ थियो ।
कार्यक्रममा ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्यालले वैदेशिक रोजगारीमा गएका मानिसले पठाएको पैसाका आधारमा देशमा रेमिट्यान्स भित्रने र आर्थिक प्रगति हुने भएकाले विदेशिने नागरिकको लागि सबै तहले सोच्नुपर्ने बताउनुभयो । उहाँले नागरिक विदेशिनुमा उसको समस्या वा अध्ययन हुने भएकाले दुवै कार्यमा सुरक्षा जरुरी रहेको र यसबारे सचेतना बढाइरहनुपर्ने बताउनुभयो । विदेशमा दुःख पाएका नागरिकले देश फर्कने आश गर्दै गर्दा मृत्युवरण गरेका घटना समेत देखिएकाले नागरिकको अवस्था, घर फिर्तीको पहलमा सरकार र मातहतका सबै निकाय जिम्मेवार हुने बताउनुभयो ।
लुम्बिनी प्रदेशका १० जिल्लाका रोजगार संयोजक तथा सामी फोकल पर्सनको सहभागीता रहेको कार्यक्रममा प्रदेशका ४८ वटा स्थानीय तहबाट सम्पादित कार्यक्रमको समीक्षा गरिदैछ । साथै आगामी नीति तथा कार्यक्रममा वैदेशिक रोजगार सम्बन्धी कस्ता कार्य समेट्न जरुरी छ भन्नेबारे सुझाव संकलन समेत गरिनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij