२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको विशेष सर्जरी कार्यक्रमका लागि नाम दर्ता सुरु

सोमवार , जेठ १३, २०८२

बुटवल, १२ जेठ । शल्यक्रिया सेवाका लागि महिनौं पालो कुर्नुपर्ने अवस्थालाई अन्त्य गर्न रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गर्न लागेको विशेष सर्जरी कार्यक्रमका लागि सोमबार (आज) देखि नाम दर्ता सुरु भएको छ । पित्तथैलीको शल्यक्रियाका लागि लामो समयदेखि पालोमा रहेका सेवाग्राहीहरुलाई विशेष कार्यक्रम सञ्चालन उपचार गर्ने उद्देश्यले आजदेनि नाम दर्ता सुरु भएको अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट (मेसु) डा. इन्द्र ढकालले बताउनुभयो ।

अस्पतालको ओपीडी सेवा अन्तरगत उपचारका लागि आई पित्तथैलीको शल्यक्रिया (अपरेशन) का लागि आगामी असार १ गतेपछि पालो पाएका बिरामीलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको मेसु डा. ढकालले जानकारी दिनभुयो । यो कार्यक्रम अन्तरगत कम्तीमा ३ जना बिरामीलाई सेवा उपलब्ध गराउने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो । यसका लागि साविकको लुुम्बिनी अञ्चलका जिल्लाहरु रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी तथा प्युठानमा समेत सूचना प्रकाशन तथा प्रशारण गरी जानकारी गराइएको अस्पतालका मेसु डा. ढकालले बताउनुभयो ।

यो अभियान सम्पन्न भएपछि शल्यक्रियाका लागि कुनै पनि सेवाग्राहीले गुनासो गर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले बताउनुभयो । उक्त अभियान सञ्चालनका लागि अस्पतालले जेठ ९ गते (शुक्रबार) देखि एक सूचना जारी गर्दै सबै सेवाग्राहीले आफ्नो नाम दर्ता गराई विशेष सर्जरी कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ । जेठ २२ गतेसम्म शल्यक्रियाका लागि पालोमा रहेका बिरामीको नाम दर्ता गरी असार १ गतेदेखि विशेष कार्यक्रम लागू गरिने अस्पतालका प्रशासकीय प्रमुख केसीले जानकारी दिनुभयो । 

अस्पताल विस्तार कार्यक्रम अन्तरगत लुम्बिनी प्रादेशिकमा प्रसूति सेवाका लागि छुट्टै अपरेशन थिएटर स्थापना भएपछि यसअघि सञ्चालनमा रहेको अपरेशन थिएटरबाट सेवा थप सहज बन्दै गएको छ ।

्प्रशासकीय प्रमुख केसीका अनुसार विगत ३ वर्षको तथ्यांक मूल्यांकन गर्दा औसतमा वार्षिक करिब १० हजार बिरामीको शल्यक्रिया हुने गरेको छ । पछिल्लो आर्थिक वर्षमा अस्पतालबाट ३ लाख ४८ हजार ९ सय ७१ जनाले स्वास्थ्य सेवा लिएका छन् । सेवाग्राहीको चाप र जनगुनासोलाई कम गर्न अस्पतालमा विशेष सर्जरी कार्यक्रम सञ्चालन गर्न लागिएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालप्रतिको जनगुनासो कम गर्नुका साथै विशिष्टीकृत सेवाहरुलाई थप गर्दै लैजाने तथा भएका सेवाहरुलाई थप गुणस्तरीय बनाउनेमा अस्पतार परिवारले योजनाबद्ध क्रियाकलपा सञ्चालन गर्दै आएको अस्पताल विकास समितिका अध्यक्ष अजमान श्रेष्ठले बताउनुभयो ।

अस्पतालले हाल सञ्चालन गर्न लागेको विशेष कार्यक्रम सरकारी अस्पतालमा सम्भवतः पहिलो भएको दावी गर्दै उहाँले यो अभियानले स्वास्थ्य सेवामा सकारात्मक प्रभाव पार्ने दावी गर्नुभयो । अस्पतालले सञ्चालन गरेको विशेष कार्यक्रमबारे सबै सेवाग्राहीसम्म सूचना पुर्याउनका लागि उहाँले राजनीतिक दल, नागरिक समाज तथा सञ्चार क्षेत्र लगायत सबै पक्षले भूमिका खेलेर सहयोग गर्न आग्रह गर्नुभयो ।