
सोमवार , जेठ १३, २०८२
बुटवल, १२ जेठ । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रक्त संकलन केन्द्र (ब्लड बैंक) स्थापनाका लागि सोमबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । रुपन्देही व्यापार संघको उपकरण सहयोग तथा अस्पतालको व्यवस्थापनमा रक्त संकलन केन्द्र सञ्चालन गरिने भएको हो ।
रक्त संकलन केन्द्र स्थापनाका लागि अस्पतालकोतर्फबाट विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ, मेडिकल सुपरीटेण्डेण्ट डा. इन्द्र ढकाल, वरिष्ठ प्रशासकीय प्रमुख राजन केसी तथा वरिष्ठ लेखा अधिकृत खगेश्वर घिमिरेले हस्ताक्षर गर्नुभएको छ । व्यापार संघकोतर्फबाट अध्यक्ष दिपक अधिकारी, वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, महासचिव फर्सुराम पन्त र कार्यकारी प्रमुख सरोज पोखरेलले हस्ताक्षर गर्नुभएको छ ।
अस्पतालमा रक्त संकलन केन्द्र स्थापनासँगै सेवाग्राहीलाई थप सहज हुने अपेक्षा गरिएको अस्पताल जिकास समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । अस्पतालमा सेवा स्थापना भन्दा पनि यसको दिगो सञ्चालन र व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै उहाँले यसको निरन्तरताका लागि दोस्रो पक्ष (व्यापार संघ)ले पनि दीर्घकालीन योजना र सोच तयार पार्न आग्रह गर्नुभयो ।
त्यसै गरी रुपन्देही व्यापार संघका अध्यक्ष अधिकारीले जनसेवाका लागि संघले अस्पतालसँग सधै सहकार्य गर्न तयार रहेको बताउँदै रक्त संकलन केन्द्रको स्थायीत्वका लागि पनि आफूहरुले सधै ध्यान दिने उल्लेख गर्नुभयो ।
अस्पतालका मेसु डा. ढकालले रक्त संकलन केन्द्र स्थापनाले सेवाग्राहीलाई उपचारमा सहज हुने बताउनुभयो । विगतमा अस्पतालसँग सहकार्य गरिरहेको रक्त सञ्चार केन्द्र बुटवलको भूमिकालाई पनि भुल्न नहुने उल्लेख गर्दै उहाँले नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।
अस्पतालमा स्थापना गरिने रक्त संकलन केन्द्रका लागि रुपन्देही व्यापार संघले उपकरण उपलब्ध गराएको र यसको सञ्चालन अस्पतालले गर्ने वरिष्ठ प्रशासकीय प्रमुख राजन केसीले बताउनुभयो । अस्पतालमा हाल मासिक ३ सय युनिट बढी रगतको माग हुँदै आएको विगतका तथ्यांकमा रहेको उहाँले जानकारी दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij