२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पन्थी सेवा समाज रुपन्देहीद्वारा वृद्धाश्रमलाई खाद्यान्न सामग्री हस्तान्तरण

मंगलवार , जेठ १४, २०८२

भैरहवा, १३ जेठ । पन्थी सेवा समाज रुपन्देहीले वृद्धाश्रममा भोजन ग्रहण गराउने एवं खाद्यान्न सामग्री हस्तान्तरण कार्यक्रम गरेको छ । समाजले मंगलबार ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा कार्यक्रम गरेको हो ।

जेठ कृष्ण औंसीको अवसरमा समाजका आजीवन सदस्य शशि पन्थीको आमा स्वर्गीय गायत्री पन्थीको सम्झनामा कार्यक्रम गरिएको समाजले जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म (बि.ओ.पी.डण्डा), रपन्देहीका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रदिप कुमार बस्नेतले पन्थी समाजले पुनित कार्य गरेको बताउनुभयो । वृद्धाश्रममा कार्यक्रम गर्नु प्रशंसनीय कार्य भएको डीएसपी बस्नेतले बताउनुभयो ।

वृद्धाश्रमकी अध्यक्ष माया खरेलले सबैको सहयोगले वृद्धाश्रम यहाँसम्म आइपुगेको बताउनुभयो । आगामी दिनमा पनि आश्रमले साथ र सहयोगको अपेक्षा राखेको उहाँको भनाइ थियो । वृद्धाश्रमलाई एउटा ई–रिक्साको आवश्यकता रहेको अध्यक्ष खरेलले बताउनुभयो ।

पन्थी सेवा समाज रुपन्देहीका पूर्व सह–सचिव शेखरनाथ पन्थीले सरकारले पनि वृद्धाश्रम सञ्चालनका लागि बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।

समाजका अध्यक्ष भीष्म पन्थीको अध्यक्षता, शेखरनाथ पन्थीको स्वागत तथा शशि पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वृद्धाश्रमलाई नगद सहयोग पनि गरिएको थियो ।