२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीको वार्षिक कार्ययोजना बैठक सम्पन्न

बुधवार , जेठ १५, २०८२

बुटवल, १४ जेठ । नेपाल उद्योग परिसंघ अन्तर्गतको युवा उद्यमी मञ्च लुम्बिनीको वार्षिक कार्ययोजना बैठक सम्पन्न भएको छ । बैठकमा पदाधिकारी, सदस्य तथा आमन्त्रित वक्ताहरूको सहभागीता थियो ।
बैठकमा शिवसुन्दर पोखरेलले मञ्चको विधान प्रस्तुत गर्नुभएको थियो । त्यस्तै अध्यक्ष राजन कसजुले आगामी वर्षका कार्यक्रम र गतिविधिहरू समेटिएको रणनीतिक पात्रो प्रस्तुत गर्नुभएको थियो ।

बैठकको शिक्षण सेग्मेन्टमा विकाश पाण्डेले प्रस्तुति दिदै उद्यमशीलता सम्बन्धी धारणा राख्नुभएको थियो । त्यसपछि सुरज उप्रेतीले विकास र विस्तार सम्बन्धी योजनाहरू प्रस्तुत गर्दै क्षेत्रीय उद्यममा युवाको भूमिकाबारे प्रकाश पार्नुभयो । उहाँले मञ्चको हालको वित्तीय अवस्थाबारे जानकारी दिदै पारदर्शी वित्तीय प्रवाह र स्रोत परिचालनमा ध्यान केन्द्रित गर्ने बताउनुभयो । त्यसपछि अभिषेक पाठकले सदस्यता अद्यावधिक प्रस्तुत गर्दै सदस्य विस्तार अभियानबारे जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बाबुराम बोहोराले युवा उद्यमीहरूलाई अझ सशक्त र संगठित भएर अगाडि बढ्न आग्रह गर्नुभयो । बैठकले आगामी वर्षलाई लक्षित गर्दै युवा उद्यमशीलता प्रवद्र्धन, नवप्रवर्तनमा आधारित परियोजना, नेटवर्क विस्तार र नीति निर्मातासँग सहकार्य बढाउने निर्णय गरेको छ ।