
बिहिवार , जेठ १६, २०८२
दाङ, १५ जेठ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित र अझै सदृढ बनाउँदै जनताको जनजीविकालाई सम्बोधन गर्नु आवश्यकता रहेको बताउनुभएको छ । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था जनताले अपनत्व गर्ने अवस्था निर्माण गर्न अझ सुदृढ एकतासहितको रुपान्तरणको खाँचो औंल्याउनुभयो ।
१८ औं गणतन्त्र दिवसको अवसरमा बिहीबार (आज) शुभकामना सन्देश जारी गर्दै सभामुख घर्ती मगरले यो दिवसले संविधानको मर्म र भावनाअनुसार अघि बढ्न, राष्ट्रहित, गणतन्त्र र संविधानको रक्षार्थ एकजुट हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति समर्पित हुन सबैमा प्रेरणा मिलोस भन्ने कामना समेत गर्नुभएको छ ।
नेपाली जनताको ठूलो बलिदानीपूर्ण संघर्षपछि महत्वपूर्ण उपलब्धिका रुपमा प्राप्त गणतन्त्रलाई हामी आफैलाई रुपान्तरण गर्दै जन–जनमा मन–मनमा स्थापित गर्न सक्नुपर्ने जनाउनुहुँदै सयौं वर्ष लामो निरंकुश राजतन्त्रको अन्त्य गरी जनताको प्रत्यक्ष शासन चल्ने व्यवस्थाको सुरुवात भएको दिन आज नेपाली राजनीतिक परिवर्तनको एउटा ऐतिहासिक महत्वको दिन रहेको जनाउनु भएको छ । उहाँले राज्य संरचनामा भएका परिवर्तनहरु सबै तह र तप्काका नागरिकले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी आएको पनि सन्देशमा उल्लेख गर्नुभएको छ ।
सभामुख घर्ती मगरले गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण लुम्बिनी प्रदेशबासी नेपाली आमा–बुवा, दिदी–बहिनी तथा दाजु–भाइमा सुख, शान्ति एवं समृद्धिको लागि शुभकामना व्यक्त गरेका छन् ।
गणतन्त्र स्थापनामा योगदान पुर्याउनुहुने विभिन्न क्रान्ति, संघर्ष लगायत सबै आन्दोलनहरुमा सहादत प्राप्त गर्नुहुने शहीदहरुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्नुभएको छ । साथै उहाँले राजनीतिक परिवर्तनको लागि शहीदहरुले पुर्याएको योगदानको उच्च सम्मान प्रकट गर्दै वेपत्ता परिवार तथा घाइते योद्धाहरुप्रति सम्मान व्यक्त गर्नुभएको छ । सभामुख घर्ती मगरले संघीयतामाथि प्रश्न उठाई प्रहार गर्दा गणतन्त्र र जनतालाई अन्याय हुने जनाउनुभएको छ ।
नेपालको गणतन्त्रात्मक संविधान–२०७२ ले व्यवस्था गरे अनुरुप मुलुक संघीयतामा प्रवेश गरेको स्मरण गर्नुहुदै उहाँले गणतन्त्रको उपलब्धिको रुपमा मुलुकमा संघीय शासन व्यवस्था आएको जनाउनु भएको छ । सभामुख घर्ती मगरले प्रदेश संरचना संघीयताको आधार र जननी भएको संघीयतालाई सफल बनाउने या असफल बनाउने भन्ने कुरा प्रदेशमा निर्भर रहेको जनाउनु भएको छ ।
‘केन्द्रीकृत शासन व्यवस्थालाई विकेन्दीकरणको सिद्धान्त अनुसार गाउँ– गाउँमा जनतालाई सेवा पुर्याउनु यसको मुल ध्यय हो । तसर्थ जनतालाई सेवा सुविधा घरदैलोमा पुर्याउने व्यवस्थाको विकल्प अर्काे कुनै व्यवस्था जनताको लागि हितकर छैन । यो नै जनताको उच्चतम चाहना पनि हो । तर, संघीयतामाथि प्रश्न उठाउँदा सबैभन्दा बढी प्रहार प्रदेशमाथि भएका छन्’शुभकामना सन्देशमा उल्लेख छ–यो व्यवस्थाका विरुद्धमा जबरजस्त आवाज उठाउनु र प्रहार गर्नु जनतामाथि नै अन्याय हुनेछ ।’
उहाँले लुम्बिनी प्रदेश सभा प्रदेशलाई आवश्यक पर्ने नीतिगत र कानूनी संरचना निर्माणको दृष्टीले निकै महत्वपूर्ण काम गरेको र केही ऐन कानून बनाउन बाँकी रहेको जनाउनुभएको छ । ‘कतिपय संघीय ऐन बनाउन विलम्व हुँदा प्रदेशका ऐन कार्यान्वयन हुन सकेका छैनन् । निर्माण भएका ऐनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेछ, ’शुभकामना सन्देशमा उल्लेख छ–‘ लुम्बिनी प्रदेशबासी जनताको साथ सहयोग र विश्वासले लुम्विनी प्रदेश सबैको मन मस्तिष्कमा छिट्टै स्थापित हुन सफल भएको छ । यो नै संघीयताको महत्वपूर्ण उपलब्धी हो ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij