२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

हरित उद्यममा जुट्दै महिला

शनिवार , जेठ १८, २०८२

भैरहवा, १७ जेठ । रुपन्देहीको सियारी गाउँपालिकाभित्रका २० जना युवालाई हरित उद्यम व्यवसायीको रुपमा छनौट गरिएको छ । युवाहरुलाई उद्यमशील बनाउने उद्देश्यले २० जना युवा छनौट गरी विभिन्न स्वरोजगारमुलक उद्यममा लगाइएको छ । 

सियारी गाउँपालिका र प्रकोप व्यवस्थापन केन्द्र सिडिएम नेपालको सहकार्यमा सामुदायिक उत्थानशिल कार्यक्रम अन्तरगत युवाहरुलाई कृषि उद्यममा जुटाइएको हो । यसैक्रममा सिडिएम नेपालको आयोजना तथा सियारी गाउँपालिकाको सहयोगमा हरित उद्यममा लागेका २० जना युवामध्ये ७ जना युवाहरुलाई हाँसको चल्ला हस्तान्तरण गरिएको छ । 

युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन तथा उद्यममा जोड्नका लागि हाँसको चल्ला, कुखुरा, तरकारी र मौरीपालनमा सहभागी बनाइएको सिडिएम नेपालका सामाजिक परिचालन अधिकृत दीपक क्षेत्रीले जानकारी दिनुभयो । उहाँले युवाहरुलाई उद्यममा जोडेर स्वरोजगार बनाउनका लागि आवश्यक सहयोग गरिएको बताउनुभयो । 

गाउँपालिका उपाध्यक्ष तारा थारुले युवाहरुलाई उद्यमशीलतामा जोड्दै जानुपर्ने बताउँदै पालिकाले पनि उद्यमशिलता प्रवद्र्धनका लागि काम गरिरहेको बताउनुभयो । उहाँले पालिकाले लगाएको लगानीलाई प्रतिफल आउने गरी काम गर्न र सफल उद्यमी बन्न आग्रह गर्नुभयो । 

गाउँपालिका र सिडएम नेपालयोगमा सञ्चालित हरित उद्यम कार्यक्रममा ४० वर्षमुनीका महिला उद्यमी रहेका छन् । क्याम्पस पढ्दै गरेका युवतीदेखि घरायसी काममा व्यस्त महिलाहरु उद्यममा जुटेका छन् । मौरीपालन सुरु गरेकी स्नातक प्रथम वर्ष अध्ययनरत सविता थारु र हाँसपालन सुरु गरेकी जानकी थारुले व्यवसायको रुपमा अगाडि बढाउने बताउनुभयो । उहाँहरुले उद्यमी बन्नका लागि मौरीपालन र हाँसपालनमा जुटेको बताउनुभयो । 

सियारीमा सुरु गरिएको हरित उद्यम कार्यक्रमले युवाहरुलाई नयाँ रोजगारीको सृजना गर्दै ग्रामीण क्षेत्रमा पनि रोजगारीको राम्रा अवसर दिन सक्ने हुँदा यसमा लगनशील भएर लाग्नुपर्नेछ ।