
शनिवार , जेठ १८, २०८२
बुटवल, १७ जेठ । रुपन्देहीको बुटवलमा तीन दिनसम्म सञ्चालन भएको एचआईभी परीक्षण तालिम समापन भएको छ । आप्रवासी तथा उनीहरूको दम्पतिका लागि सञ्चालित एचआईभी रोकथाम कार्यक्रम अन्तर्गत आउटरिज वर्कर र कम्युनिटी वर्करका लागि समुदायको नेतृत्वमा एचआईभी परीक्षण तालिम भएको थियो ।
नागार्जुन डेभलपमेन्ट कम्युनिटी एनडिसिको आयोजना लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशालाको समन्वय र जि एफ ए टि एमको सहयोगमा तालिम आयोजना गरिएको एनडिसीका कार्यकारी निर्देशक जगदीश चन्द्र भट्टले जानकारी दिनुभयो । उहाँले लुम्बिनी प्रदेशका तराईका ६ जिल्लाहरु रुपन्देही, बाँके, बर्दिया, कपिलवस्तु, दाङ र परासीमा कार्यक्षेत्र रहेको बताउँदै तालिममा २२ जना सहभागी रहेको बताउनुभयो ।
प्रवासी कामदार र उनीहरूका दम्पत्तिका लागि एचआईभी रोकथामको कार्यक्रम लामो समयदेखि गर्दै आएको र आगामी दिनमा लुम्बिनी प्रदेशमा थप कार्यक्रम गरिने उहाँले उल्लेख गर्नुभयो । समापन समारोहमा जि एफ ए टि एमका अनुगमन तथा मूल्यांकन व्यवस्थापक खेमराज चौधरी, कार्यक्रम संयोजक वीर बहादुर पुन, एनडिसि रुपन्देही कार्यक्रम अधिकृत राधा अधिकारी भट्टराई लगायतले बोल्नुभएको थियो ।
तालिममा जनस्वास्थ्य प्रयोगशाला लुम्बिनी प्रदेशका ल्याब टेक्निसियनहरु सुमन सापकोटा कल्पना घिमिरे र शिवेन्द्र सिंह चौधरी प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो । सो अवसरमा ६ वटै जिल्लाका कार्यक्रम अधिकृतहरुको सहभागिता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij