
शनिवार , जेठ १८, २०८२
बुटवल, १७ जेठ । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रक्त सञ्चार केन्द्रको उद्घाटन गरिएको छ । रुपन्देही व्यापार संघको उपकरण सहयोगमा निर्मित रक्त सञ्चार केन्द्रको शनिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीलाई नयाँ जीवन प्रदान गर्न रक्तदान नै महादान भएकाले यसप्रकारको दानमा जोडिन सबैमा आह्वान समेत गर्नुभएको छ । उहाँले प्रदेश सरकारले सबै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम अघि सारेको स्पष्ट पार्नुभएको छ । निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीलाई रगत उपलब्ध गराउन केही कानूनी जटिलता रहेको र त्यसलाई फुकाउने गरी सरकारले ध्यान दिने पनि उहाँले जानकारी दिनुभयो । ‘रगतमा लाग्ने जुन शुल्क छ, त्यसलाई निःशुल्क बनाउने गरी सरकारले काम अघि बढाएको छ । निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीको हकमा उपलब्ध गराउन केही कानूनी जटिलता देखिएको छ । सरकार सबैलाई निःशुल्क रगत उपलब्ध गराउन चाहन्छ’ उहाँले भन्नुभयो ।
समुदायको क्षेत्रबाट रक्त सञ्चार केन्द्र स्थापना गर्न खेलेको भूमिकाको मुख्यमन्त्री आचार्यले प्रशंसा व्यक्त गर्नुभयो । उहाँले दान र सेवाको माध्यमबाट सामाजिक कामलाई अघि बढाउन सकिने र सबैमा सेवाको भावनाको भोग जाग्न जरुरी रहेको समेत बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई गौरवको आयोजनाका रूपमा अघि बढाएको र अस्पतालभित्रका सेवा विस्तार भइरहेका जानकारी दिनुभयो । अस्पतालमा शल्यक्रिया सेवाका लागि पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकार सेवा प्रवाहलाई चुस्त बनाउँदै अघि बढेको उहाँको भनाइ थियो । ‘बिरामीहरूले अपरेशनका निमित्त धेरै दिन कुर्न नपरोस् भन्ने उद्देश्यले प्रदेश सरकारले लक्ष्यसहित काम अघि बढाएको छ । सेवा प्रवाह नै पहिलो सर्त हो । यसमा सरकार दृढ छ,’ उहाँले स्पष्ट पार्नुभयो ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारु, प्रदेश सभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, सरोकारवाला पक्ष,स्वास्थ्यकर्मी तथा सर्वसाधारणको सहभागीता थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij