२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सुस्ता गाउँपालिकामा कपडा बैंक स्थापना

आइतवार , जेठ १९, २०८२

रुपन्देही, १८ जेठ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा कपडा बैंक स्थापना गरिएको छ । सुस्ता गाउँपालिका र कपडा बैंकसँगको लागत साझेदारीमा कपडा बैंकको स्थापना गरिएको हो । कपडा बैंकको गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै अध्यक्ष उपाध्यायले आफूहरुसँग भएका वस्तुहरूलाई प्रयोगमा ल्याउन नजान्दा आर्थिक उन्नतिमा पछाडि परेको बताउँदै कपडा बैंकको स्थापनाले प्रयोगमा नआएका कपडाहरू पनि पुनः प्रयोगमा आउने बताउनुभयो । उहाँले कपडा बैंकसँग आवश्यक समन्वय र सहकार्य गरी अगाडि बढने र  यो कार्यक्रमले असहाय तथा विपन्न व्यक्तिलाई ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष गीता चौधरीले पालिकाभित्र रहेका काम नलाग्ने कपडाहरुलाई प्रशोधित गरी पुनः प्रयोगमा ल्याउने कार्यमा सहयोग गरेको भन्दै कपडा बैंकका अध्यक्ष कमल जि.सीलगायतलाई धन्यवाद दिनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले पालिकामा स्थापना गरिएको कपडा बैंकबाट विपन्न नागरिकलाई सहज हुने बताउनुभयो । उहाँले आफ्नो घर, टोल र समाजलाई सफा राखौं, कोही कपडाबिहीन नरहुन् भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै अन्य पालिकाहरुमा जस्तै सुस्ता गाउँपालिकामा पनि कपडा बैंकको स्थापना गरिएको बताउनुभयो ।

कार्यक्रममा बर्दघाट जेसीजका निवर्तमान अध्यक्ष युवराज चापागाईंले कपडा जेसीज र कपडा बैंकबीच समन्वय र सहकार्य हुने बताउनुभयो ।

कपडा बैंकका केन्द्रिय अध्यक्ष कमल जिसीले  प्रयोगमा नआएका कपडाहरु पुनः प्रशोधन गरेर संस्थाकोतर्फबाट आवश्यक पर्नेहरूलाई निःशुल्क रुपमा वितरण गरिदै आएको जानकारी दिनुभयो । २०८१ सालमा स्थापना गरिएको कपडा बैंक अहिले देशभरका १६० भन्दा बढी स्थानीय तहमा पुगेको जिसीले जानकारी दिनुभयो । महानायक राजेश हमाल संरक्षक रहनुभएको उक्त कपडा बैंकले प्रयोगमा नआएका कपडाहरूलाई पुनः प्रशोधन गरेर बितरण गर्दैै आइरहेको जिसीले बताउनुभयो ।

दिनेश घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।