२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको अपरेशनका लागि नाम दर्ता गराउने क्रम जारी

आइतवार , जेठ १९, २०८२

बुटवल, १८ जेठ । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले पित्तथैलीको शल्यक्रिया (अपरेशन)का लागि महिनौदेखि पालोमा रहेका सेवाग्राहीलाई लक्षित गरी आयोजना गरेको ‘विशेष सर्जरी’ कार्यक्रमका लागि नाम दर्ता गराउने क्रम जारी रहेको छ । अस्पतालमा आगामी असार १ गतेपछि पालोमा रहेका बिरामीलाई नाम दर्ता गराएर विशेष सर्जरी कार्यक्रममा सहभागी हुन अस्पताल प्रशासनले सूचना जारी गरेको छ । 

अस्पतालले यही जेठ २२ गतेसम्म सेवाग्राहीलाई नाम दर्ता गराउन आग्रह गरेको छ । अस्पतालको ओपीडी सेवा अन्तरगत उपचारका लागि आई पित्तथैलीको अपरेशनका लागि पालोमा रहेका बिरामीले यस कार्यक्रममा सहभागी हुन सक्ने मेडिकल सुपरीटेण्डेण्ट डा. इन्द्र ढकालले बताउनुभयो। यो कार्यक्रम अन्तरगत कम्तीमा ३ सय जना बिरामीलाई सेवा उपलब्ध गराउने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो । 

यसका लागि साविकको लुुम्बिनी अञ्चलका जिल्लाहरु रुपन्देहीसहित पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी तथा प्युठानमा समेत सूचना प्रकाशन÷प्रशारण गरी जानकारी गराइएको डा. ढकालले जानकारी दिनुभयो । 

यो अभियान सम्पन्न भएपछि शल्यक्रियाका लागि कुनै पनि सेवाग्राहीले गुनासो गर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले बताउनुभयो । 

उक्त अभियान सञ्चालनका लागि अस्पतालले जेठ ९ गते (शुक्रबार) देखि एक सूचना जारी गर्दै सबै सेवाग्राहीले आफ्नो नाम दर्ता गराई विशेष सर्जरी कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ । जेठ २२ गतेसम्म शल्यक्रियाका लागि पालोमा रहेका बिरामीको नाम दर्ता गरी असार १ गतेदेखि विशेष कार्यक्रम लागू गरिने अस्पतालका प्रशासकीय प्रमुख केसीले जानकारी दिनुभयो ।  

अस्पताल विस्तार कार्यक्रम अन्तरगत लुम्बिनी प्रादेशिकमा प्रसूति सेवाका लागि छुट्टै अपरेशन थिएटर स्थापना भएपछि यसअघि सञ्चालनमा रहेको अपरेशन थिएटरबाट सेवा थप सहज बन्दै गएको छ । 

अस्पतालका प्रशासकीय प्रमुख केसीका अनुसार विगत ३ वर्षको तथ्यांक मूल्यांकन गर्दा औसतमा वार्षिक करिब १० हजार बिरामीको शल्यक्रिया हुने गरेको छ । पछिल्लो आर्थिक वर्षमा अस्पतालबाट ३ लाख ४८ हजार ९ सय ७१ जनाले स्वास्थ्य सेवा लिएका छन् । 

सेवाग्राहीको चाप र जनगुनासोलाई कम गर्न अस्पतालमा विशेष सर्जरी कार्यक्रम सञ्चालन गर्न लागिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालप्रतिको जनगुनासो कम गर्नुका साथै विशिष्टीकृत सेवाहरुलाई थप गर्दै लैजाने तथा भएका सेवाहरुलाई थप गुणस्तरीय बनाउनेमा अस्पताल परिवारले योजनाबद्ध क्रियाकलाप सञ्चालन गर्दै आएको अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले बताउनुभयो । 

अस्पतालले हाल सञ्चालन गर्न लागेको विशेष कार्यक्रम सरकारी अस्पतालमा सम्भवतः पहिलो भएको दावी गर्दै उहाँले यो अभियानले स्वास्थ्य सेवामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । अस्पतालले सञ्चालन गरेको विशेष कार्यक्रमबारे सबै सेवाग्राहीसम्म सूचना पुर्याउनका लागि राजनीतिक दल, नागरिक समाज तथा सञ्चार क्षेत्र लगायत सबै पक्षले भूमिका खेलेर सहयोग गर्न उहाँको आग्रह छ ।