
आइतवार , जेठ १९, २०८२
भैरहवा, १८ जेठ । रुपन्देहीको सिद्वार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँँले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि लुम्बिनी प्रदेश सरकारसँग नगरको विकास तथा सुन्दरीकरण, फोहोरमैला व्यवस्थापनको लागि मेसिन खरिद लगायतका कामको लागि बजेट माग गर्नुभएको छ । आइतबार मुख्यमन्त्री चेतनारायण आचार्यसहित अन्य मन्त्रीहरुसँग भेट गरी मेयर खाँले आन्तरिक स्रोत कम भएको सिद्वार्थनगरको विकासका लागि आवश्यक बजेट विनियोजन गर्न माग गर्नुभएको हो ।
नगरको आर्थिक स्रोत कम भएको र जनताको अपेक्षा एवं नगरमा गर्नुपर्ने काम धेरै भएको उल्लेख गर्दै उहाँले मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई बजेट विनियोजनमा कन्जूस्याई नगर्न आग्रह समेत गर्नुभयो । उहाँले मुख्यमन्त्री आचार्य, भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकाल, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरी, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना लगायतका मन्त्रीहरुसँग भेट गर्नुभएको नगर प्रमुखका स्वकीय सचिव वकरत बादशाहले जानकारी दिनुभयो ।
आगामी आर्थिक वर्षका लागि योजना छनौटमा सिद्वार्थनगरलाई पनि बजेट बिनियोजन गर्नका लागि मन्त्रीहरुले सकारात्मक आश्वासन दिनुभएको नगरप्रमुख खाँले जानकारी दिनुभयो ।
प्रदेश राजधानी राप्ती उपत्यका दाङमा भएको भेटमा नगरप्रमुखसहित वडा नम्बर १३ का वडाअध्यक्ष सोमबहादुर गुरुङ, नगरपालिकाका प्रेस सल्लाहकार श्यामशंकर पाण्डे लगायत सहभागी हुनुहुन्थ्यो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij