२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रोटरी बुटवल चौतारीद्वारा शितगंगामा स्वास्थ्य शिविर तथा एम्बुलेन्स हस्तान्तरण

आइतवार , जेठ १९, २०८२

अर्घाखाँची, १८ जेठ । रोटरी क्लब अफ बुटवल चौतारीले अर्घाखाँचीको शितगंगा नगरपालिकाका तीनवटा वडाका बासिन्दालाई लक्षित गर्दै मेगा स्वास्थ्य शिविर तथा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

शितगंगा नगरपालिका वडा नम्बर ५, ६ र ७ का बासिन्दाहरूलाई लक्षित गरी एकदिवसीय मेगा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो । देउराली आधारभूत स्वास्थ्य केन्द्र, जुकेनामा सम्पन्न कार्यक्रममा स्थानीयबासीको उल्लेख्य सहभागीता रहेको क्लबले जनाएको छ ।

शिविरमा ४१२ जनाले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेको रोटरी क्लव अफ बुटवल चौतारीका अध्यक्ष नुमेन्द्र पौडेलले जानकारी दिनुभयो । जसमा २९० महिला, १२२ पुरुष र ५० बालबालिका रहेका थिए । बिहानैदेखि स्थानीय बासिन्दाहरू लाइनमा उभिएर सेवा लिएका दृश्यले शिविरको सफलतालाई उजागर गरेको पनि उहाँले बताउनुभयो ।

रोटरी क्लब बुटवल चौतारीका अध्यक्ष नुमेन्द्र पौडेलकै नेतृत्वमा भएको कार्यक्रमको उदघाटन शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेलले गर्नुभएको थियो ।  

494482ea-d490-46d9-9d98-6438586baccd.jpg

कार्यक्रममा नगर उपप्रमुख गीता भाटको रोटरीयन प्रज्वल थान्जु, ओम जैसी, प्रमोद पन्थी, सुनिल कसौधन, विजय खनाल लगायतको पनि उपस्थिति थियो ।

कार्यक्रममा क्लबका ४५ जना रोटरीयनहरूको सक्रिय सहभागीता रहेको थियो । जसमा संस्थापक अध्यक्ष डा. विष्णु घिमिरे, पूर्वअध्यक्ष दिनेशमणि सुवेदी, अध्यक्ष मनोनित राजु अधिकारी, अध्यक्ष प्रस्तावित कपिल पोखरेल, सचिव खगेन्द्र बेलबासे लगायत अन्य पदाधिकारीहरू पनि सहभागी हुनुहुन्थ्यो ।

स्वास्थ्य सेवा प्रदान गर्ने टोलीको नेतृत्व डा. सुन्दर न्यौपाने, श्रीकान्त सुवेदी र कृष्ण जि.सी.ले गर्नुभएको थियो । डाक्टरहरूको टोलीमा डा. अब्दुल सबुर खान, डा. आरती श्रेष्ठ, डा. विनोद पौडेल, डा. कृष्णकुमार यादव, डा. सन्तोष पाण्डे, डा. सन्ध्या अधिकारी र डा. प्रतिभा पन्थी लगायतले स्वयंसेवकका रूपमा सहभागी भएर स्वास्थ्य सेवा उपलब्ध गराउनुभएको थियो ।

वडाध्यक्ष ऋषि बहादुर रेश्मीले स्थानीय व्यवस्थापनमा सहयोग गर्नुभएको र रेडियो शितगंगाका अध्यक्ष नारायण शर्मा र स्थानीय पत्रकारहरूले पनि कार्यक्रमको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेलेको क्लबले जनाएको छ ।

कार्यक्रममा नगरप्रमुख पौडेल, उपप्रमुख गीता भाट, डा. घिमिरे, रोटरीयन थान्जु, रोटरीयन सुवेदी लगायतले मन्तव्य व्यक्त गर्दै क्लबले रचनात्मक कार्यक्रम गरेको भन्दै प्रशंसा गर्नुभएको थियो । त्यस्तै उहाँहरुले एम्बुलेन्स हस्तान्तरणले आपतकालीन स्वास्थ्य सेवामा सुधारको नयाँ अध्याय सुरु गरेको पनि बताउनुभयो ।

 

दाताहरूको उदार सहयोग र सम्पूर्ण टोलीको समर्पणका साथ सम्पन्न कार्यक्रमले ‘सेवा, सहयोग र समर्पणले नै समाजमा परिवर्तन सम्भव छ’ भन्ने सन्देश दिएको उहाँहरुको भनाइ थियो ।