
सोमवार , जेठ २०, २०८२
बुटवल, १९ जेठ । तिलोत्तमा नगरपालिकाको सहकार्यमा लायन्स क्लब अफ तिलोत्तमा स्टार्सद्वारा निर्मित यात्रु प्रतिक्षालयको उद्घाटन गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित मणिग्राम चोकको पश्चिमतर्फ निर्माण गरिएको यात्रु प्रतिक्षालयको उद्घाटन गरिएको हो ।
प्रतिक्षालयको आइतबार एक कार्यक्रमकाबीच तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले उद्घाटन गर्नुभएको हो । सो अवसरमा बोल्दै नगरप्रमुख खाणले लायन्स क्लबले गर्ने कार्यहरु अरु क्लब र युवाहरुको लागि उदाहरणीय बनेको बताउनुभयो । उहाँले बेलहियादेखि बुटवलसम्म एकै प्रकारको यात्रु प्रतिक्षालय बनाउन सकिए त्यसले राम्रो सन्देश जाने बताउनुभयो । उहाँले तिलोत्तमा नगरपालिकाले लायन्स क्लबसँग सहकार्य गर्दै जाने उल्लेख गर्नुभयो । नगरप्रमुख खाणले करको दर नभइ दायरा बढाउनुपर्नेमा जोड दिनुभयो ।
विशिष्ट अतिथि डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले प्रतिक्षालय बनाउनु उत्कृष्ट कार्य भएको बताउनुभयो ।
तिलोत्तमा–५ का वडाअध्यक्ष रमेश डुम्रेले नागरिकमैत्री प्रतिक्षालय निर्माण गरेकोमा क्लबलाई धन्यवाद दिदै वडा कार्यालय पनि क्लबसँग सहकार्य र समन्वयमा कार्यक्रम गर्न तयार रहेको बताउनुभयो ।
क्लबका संस्थापक अध्यक्ष लक्ष्मी थापाले यात्रुहरुको आवश्यकतालाई पहिचान गरी बनाइएको प्रतिक्षालयमा पुगेपछि तिलोत्तमाका पर्यटकीय स्थलको बारेमा जानकारी, आपतकालिन फोन नम्बर, त्यहाँको तापक्रम लगायतका जानकारी लिन सकिने बताउनुभयो ।
क्लबका अध्यक्ष बिना पौडेल क्षेत्रीले तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा प्रतिक्षालय निर्माण गर्न सफल भएको बताउँदै आगामी दिनमा पनि स्थानीय सरकारको साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो।
कार्यक्रम संयोजक रमेश पराजुलीले छोटो समयमा उत्कृष्ट प्रतिक्षालय निर्माण गर्न सफल भएको भन्दै उहाँँले क्लबको वार्षिक सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर प्रतिक्षालय निर्माण गरेको जानकारी दिनुभयो । करिब ३ लाख ५० हजारको लागतमा प्रतिक्षालय निर्माण भएको उहाँले जानकारी दिनुभयो ।
क्लबका सह–सचिव नारायण अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij