२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भैरहवामा भिएफडी तालिम सुरु

बुधवार , जेठ २२, २०८२

भैरहवा, २१ जेठ । रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजना तथा चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) सिद्धार्थनगरको समन्वयमा भैरहवामा कामदारहरुको लागि सीप अभिवृद्धि (भिएफडी) तालिम सुरु भएको छ ।

रुपन्देही आसपासका क्षेत्रमा इलेक्ट्रिकलसँग सम्बन्धित उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिका लागि १६ दिने (९६ घण्टे) निःशुल्क तालिम सुरु भएको आयोजकले जनाएका छन् ।

तालिमको उद्घाटन कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले यो तालिमले युवा पुस्तालाई प्रविधिमैत्री, दक्ष र प्रतिष्पर्धी बनाउन सहयोग गर्ने बताउनुभयो । उहाँले आजको युग प्रविधिमा द्रुत गतिमा अगाडि बढिरहेको र यस्तो सन्दर्भमा भिएफडी जस्तो प्रविधिको ज्ञान औद्योगिक उत्पादन, ऊर्जा दक्षता र मर्मतसम्भारको क्षेत्रमा उपयोगी मात्र नभइ अपरिहार्य बन्दै गएको बताउनुभयो ।

त्यस्तै उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले जीवनमा सीपको आवश्यकता रहेको बताउनुभयो । उहाँले सिकेका कुरा व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष श्रेष्ठले तालिममा नियमित सहभागी हुन प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो । उहाँले यस तालिमले नयाँ उद्योगमैत्री सीप व्यवहारिक ज्ञान र आधुनिक सोच प्रदान गर्ने बताउनुभयो ।

उद्योग व्यापार संगठन रूपन्देहीकी महासचिव लक्ष्मी अधिकारीले आजको युग प्राविधिक क्रान्तिको युग भएको र हरेक क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकता बढ्दै गएको बताउनुभयो ।

तालिमका प्रमुख प्रशिक्षकको अखिलेश कुमार यादवले तालिमलाई प्रभावकारी र सीपयोग्य बनाउनका लागि नियमित, अनुशासित र सिकाईयोग्य वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । तत्काल उद्योगमा रहेको प्राविधिक समस्यालाई सम्बोधन हुने गरी तालिम सञ्चालन गरिने उहाँले जानकारी गराउनुभयो । उहाँले विद्युत तथा इलेक्ट्रोनिक्स प्रणालीमा भीएफडी एक महत्वपूर्ण प्रविधि भएको जसले विद्युत मोटरहरूको गति नियमन गर्न मद्दत गर्ने, ऊर्जा बचत, यन्त्रको दीर्घायु तथा दक्ष उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

कार्यक्रममा इन्स्योर परियोजना लुम्बिनी प्रदेश टेक्निकल अफिसर विनय गौतम ,उद्योग व्यापार संगठन रूपन्देहीका कार्यसमिति सदस्य कृष्ण मरासनी, राम प्रसाद भण्डारी, उषा बेल्बासे लगायतको उपस्थिति थियो ।

कार्यक्रममा १४ वटा उद्योगबाट २० जनाको सहभागीता छ  । कार्यक्रमको संयोजन सीप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजाल र सीप विकास इकाईका कार्यक्रम अधिकृत प्रदीप पन्थीले गर्नुभएको हो । 

रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाको अध्यक्षता, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठको प्रमुख आतिथ्यता, महासचिव लक्ष्मी अधिकारीको स्वागत तथा रूपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीको सञ्चालनमा भएको कार्यक्रम सम्पन्न भएको थियो ।

IMG_6697.JPG

तालिमको मुख्य उद्देश्य प्रशिक्षार्थीलार्ई भिएफडीको प्रयोग, स्थापना, सञ्चालन र मर्मतसम्भार सम्बन्धी व्यवहारिक र सैद्वान्तिक ज्ञान दिइ प्राविधिक दक्षता अभिवृद्धि गर्दै रोजगारी र स्वरोजगारका अवसरहरूमा सहयोग पुर्याउनु रहेको रुपन्देही उद्योग संघले जनाएको छ ।