
बिहिवार , जेठ २३, २०८२
भैरहवा, २२ जेठ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जिल्लामा सडक सुरक्षाको अभियानलाई तीव्रता दिएको छ । कार्यालयले नेतृत्वदायी भूमिका निर्वाह गर्दै सडकदेखि बस्तीसम्म ट्राफिक सचेतना अभियानलाई तीव्रता दिएको हो ।
विद्यालय र क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई ट्राफिक सचेतना गराइरहेको र पछिल्लो समय शहरदेखि ग्रामीण क्षेत्रसम्म सचेतना अभियानलाई विस्तार गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
बुधबार ओमसतिया गाउँपालिकाको वडा नम्बर ४ मा आयोजित ट्राफिक सचेतना कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीकी प्रमुख प्रहरी निरीक्षक रन्जु के.सी.ले सवारी दुर्घटनाका मुख्य कारणहरूबारे जानकारी गराउनुभयो । उहाँले अभिभावकहरूलाई ट्राफिक सचेतना प्रदान गर्दै कसरी आफ्ना छोराछोरीलाई सुरक्षित रुपमा सवारी सञ्चालन गर्न प्रेरित गर्ने विषयमा सचेतना प्रदान गर्नुभएको हो ।
‘सडक दुर्घटना न्यूनीकरणका लागि नियमअनुसार सवारी चलाउनु अत्यन्त आवश्यक छ । तीव्र गति (ओभर स्पिड) तथा लापरवाही नै दुर्घटनाका प्रमुख कारण हुने गरेको छ । त्यसैले अभिभावकहरूले आफ्नो छोराछोरीलाई जिम्मेवारीपूर्वक सवारी चलाउन प्रेरित गर्नुपर्छ, ’प्रहरी निरीक्षक के.सी.ले भन्नुभयो ।
ट्राफिक प्रहरीले विद्यालय, क्याम्पस तथा विभिन्न संघ–संस्थासँगको सहकार्य गरेको ट्राफिक सचेतनाले सवारी दुर्घटना न्यूनीकरणका लागि महत्वपूर्ण भूमिका खेलेको स्थानीयहरुले बताउने गरेका छन् । ट्राफिक प्रहरीको नेतृत्वमा, सवारीचालकदेखि सडक प्रयोगकर्तासम्म सचेत बनाउन निरन्तर अभियान सञ्चालन भइरहनु राम्रो पक्ष भएको ओमसतिया गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष अखलेश्वर कुमार पाण्डेले बताउनुभयो ।
ट्राफिक प्रहरीको यो प्रयासले सडक दुर्घटनाका घटनाहरू न्यूनीकरण हुने अपेक्षा गरिएको छ । स्थानीयले यस सचेतना अभियानको प्रशंसा गर्दै ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनलाई जोड दिएका छन् ।
सार्वजनिक यातायात, निजी सवारीचालक तथा समुदायका सदस्यहरूसँग प्रत्यक्ष संवाद गर्दै ट्राफिक नियमको महत्व र सुरक्षित यात्राको आवश्यकताबारे ट्राफिक प्रहरीले फैलाइरहेको सचेतना अभियानमा सबैले सहकार्य र सहयोग गर्न प्रहरी निरीक्षक के.सी.को आग्रह छ ।
‘सडकको सुरक्षा हाम्रो साझा जिम्मेवारी हो । यदि हामीले नियम पालना गर्यौं भने, दुर्घटनाबाट बच्न सक्छौं । यस अभियानलाई सफल बनाउन सबैको सहकार्य आवश्यक छ, ’उहाँले भन्नुभयो ।
सडक सुरक्षालाई थप सशक्त बनाउन प्रहरी निरीक्षक के.सी.ले नयाँ रणनीति तथा प्रविधिको उपयोगमार्फत ट्राफिक व्यवस्थापन सुधार गर्ने योजना बनाएको देखिन्छ । उहाँले स्थानीय प्रशासन, ट्राफिक प्रहरी तथा सर्वसाधारणसँको सहकार्यलाई अझ मजबुत बनाउने लक्ष्य राख्दै अगाडि बढ्नुभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
के.सी.को नेतृत्वमा रुपन्देहीमा ट्राफिक सचेतना अभियानले प्रभाव पार्ने आशा गरिएको छ । सुरक्षित सडकका लागि सचेतना अभियानलाई निरन्तरता दिइ सडक दुर्घटनाको दर घटाउन सकिन्छ भन्ने सडक प्रयोगकर्ता तथा स्थानीयबासीले विश्वास व्यक्त गरेका छन् । सुरक्षित सडक, जिम्मेवार सवारीचालक र सचेत अभिभावकहरूका लागि यो अभियान निकै महत्वपूर्ण बन्नेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको विश्वास छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij