
बिहिवार , जेठ २३, २०८२
बुटवल, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा बुटवल–नुवाकोट सडकखण्डको बदेलपोखरीदेखि लाउरे डाडासम्म सरसफाई गरिएको छ । पर्यावरण संरक्षण समाज नेपालको आयोजना तथा वन निर्देशनालय बुटवल, बुटवल उपमहानगरपालिका, नयाँगाउँ खानेपानी, नेपाल प्रहरी, जुम्मा टीम र विभिन्न टोल समितिको सहकार्यमा बृहत सरसफाई कार्यक्रम गरिएको हो ।
करिब ६ सय जनाको सहभागीता रहेको सरसफाई अभियानमा जंगलभित्र रहेका प्लाष्टिक र सिसा सफा गरिएको हो । बेल्बास बदेलपोखरीबाट सुरु भएको सरसफाई पाणिनी उद्दान पार्क, जितेश्वरी सामुदायिक वन क्षेत्रबाट प्लाष्टिक सिसाजन्य फोहोर उठाएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वन निर्देशनालय बुटवलका निर्देशक प्रभात सापकोटाले पर्यावरण जोगाउन प्लाष्टिकजन्य फोहरको अन्त्य अनिवार्य भएको बताउनुभयो । त्यस्तै बुटवल उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष नारायण पुनले जंगलमा फोहोर फाल्न निषेध गर्दै निरन्तर रुपमा सरसफाई अभियानमा लाग्ने बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाका सरसफाई तथा अनुगमन शाखाका प्रमुख ठगिश्वर पोखरेलले नगरपालिकामार्फत निरन्तर पर्यावरण संरक्षणमा काम गरिरहेका जानकारी दिदै आम नागरिक सचेत र अनुशासित हुनुपर्नेमा जोड दिनुभयो ।
पर्यावरण संरक्षण नेपालको केन्द्रिय अध्यक्ष गंगा पोखरेलले आफूहरुले वातावरण दिवसको दिन नै सस्था गठन गरी यसको संरक्षणमा सचेतना, सरसफाई कार्यमा निरन्तर क्रियाशिल रहेको उल्लेख गर्नुभयो । उहाँले सबैको साथ, समर्थन, सहयोग, सहभागीले पर्यावरण संरक्षण गर्न सकिने बताउनुभयो । उहाँले वातावरण दिवसको अवसरमा बिहान ५ बजेदेखि जंगलको कुनाकुनामा पुगेर करिब ३ घण्टा निरन्तर सिसा प्लाष्टिकजन्य फोहोरको बृहत सरसफाइमा खटिने, सहकार्य गर्ने संस्थाहरु सबैप्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा पाणिनी उद्यान पार्क अध्यक्ष ऋषि आजाद, ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शालिग्राम खनाल, वडा नम्बर १३ वडा सदस्य झविन्द्र थापा, लालबहादुर गुरुङ, भैरव मन्दिर जुम्बा टीम अध्यक्ष राजकुमार थापा, गोर्खा स्पोट ट्रेनिङ सेन्टरका रमेश थापा, जितेश्वरी सामुदायिक वन प्रतिनिधिहरु, पर्यावरण संरक्षण समाज नेपालका केन्द्रिय कोषाध्यक्ष बनिका भण्डारी, सदस्य विनिता भट्टराई, अषेश भण्डारी लगायतको सहभागीता थियो ।
पछिल्लो समय पर्यटकीय गन्तव्य रुपमा बुटवलदेखि नुवाकोट जाने क्रम बढेसँगै सिसा प्लाष्टिकजन्य फोहोर व्यवस्थापन नगरे जंगल खण्डहर हुने पर्यावरण संरक्षण समाजका केन्द्रिय उपाध्यक्ष अर्जुन ज्ञवालीले चेतावनी दिनुभयो । उहाँले सरोकारवालाहरु हातेमालो गर्दै पर्यटन प्रवद्र्धनको लागि पनि सफा, स्वच्छ जंगल आवश्यक रहेकोेले जंगलमा प्लाष्टिक सिसा फाल्नेलाई सचेतना, नीग्रानी, कार्यवाही समेत गर्नुपर्नेमा जोड दिनुभयो ।
निरन्तर रुपमा सिसा प्लाष्टिकको प्रयोगशाला निरुत्साहित बनाउन देशभरी अभियान चलाइने केन्द्रिय सचिव कृष्ण गाउँले बताउनुभयो । कार्यक्रम पर्यावरण संरक्षण समाज नेपालको केन्द्रिय अध्यक्ष गंगा पोख्रेल, केन्द्रिय उपाध्यक्ष अर्जुन ज्ञवालीको स्वागत तथा केन्द्रिय सचिव कृष्ण गाउँलेको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij