
बिहिवार , जेठ २३, २०८२
भैरहवा, २२ जेठ । ‘प्लाष्टिक प्रदुषण हाम्रो दायित्व’ भन्ने नाराका साथ बिहीबार (आज) विश्व वातावरण दिवस भैरहवामा पनि मनाइएको छ । डिभिजन वन कार्यालय रुपन्देहीको आयोजनामा दिवस मनाइएको हो ।
वन कार्यालय प्रमुख सिनियर डिभिजनल वन अधिकृत प्रविन बिडारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले वृक्षरोपण गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै प्रजिअ घिमिरेले वन कार्यालयले गरेको प्लाष्टिक नियन्त्रित डिभिजन वन कार्यालय घोषणाको प्रशंसा गर्नुभयो । वन कार्यालयले वातावरण दिवसको अवसरमा प्लाष्टिक नियन्त्रित कार्यालय परिसर घोषणा गरेको थियो । कार्यक्रममा प्लाष्टिक प्रयोग न्यूनीकरणका लागि सहभागीहरुलाई झोला वितरण गरिएको थियो ।
कार्यक्रममा वन निर्देशनालयका निर्देशक प्रभात सापकोटा, सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का अध्यक्ष कुमार गुरुङ, डण्डाखोला सरसफाई अभियानका संयोजक लिला बहादुर कार्की लगायतले बोल्नुभएको थियो ।
कार्यालयका वन अधिकृत दीपक केसीको स्वागतमा भएको कार्यक्रमको शाखा अधिकृत टेक प्रसाद भट्टराईले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्री, सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन न्यौपाने, कुल प्रसाद खनाल, वडा नम्बर १३ का वडाअध्यक्ष सोम बहादुर गुरुंङलगायतको आतिथ्यता थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij