२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेपाल घरेलु तथा साना उद्योग महासंघले मनायो ३६ औं स्थापना दिवस

आइतवार , जेठ २६, २०८२

तिलोत्तमा, २५ जेठ । नेपाल घरेलु तथा साना उद्योग महासंघले आफ्नो ३६ औं स्थापना दिवस मनाएको छ । शनिबार तिलोत्तमास्थित नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीको आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी महासंघ रुपन्देहीले स्थापना दिवस मनाएको हो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका अध्यक्ष टंकनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष देवानन्द पाण्डेले महासंघको जन्म कस्तो परिस्थितिमा भएको थियो र महासंघ अहिले कस्तो अवस्थामा छ भन्ने विषयमा प्रकाश पार्नुभएको थियो । उहाँले २०४७ सालमा नेपाल घरेलु तथा साना उद्योग महासंघ स्थापना भएको बताउँदै सुरुवाती समयमा यो संस्था निकै सक्रिय रहेको भएता पनि बीचको समयमा सुस्त हुन पुग्दा पछाडि परेको बताउनुभयो । देशमा सबैभन्दा धेरै साना तथा मझौला व्यवसायीहरूको संख्या रहेको भएको बताउँदै महासंघले सबैलाई समेटेर अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो ।

महासंघ रुपन्देहीका सल्लाहकार ज्ञानेन्द्र कसजुले कुनै समय घरेलु तथा साना उद्योग महासंघ व्यवसायिक संघ–संस्थाहरूमध्ये सबैभन्दा सक्रिय र ठुलो संस्थाका रूपमा रहेको स्मरण गर्नुभयो । 
त्यस्तै महासंघ रुपन्देहीका सल्लाहकार तेजकुमार पाठक तथा नवराज श्रेष्ठले नेपाल घरेलु तथा साना उद्योग महासंघ आम साना तथा मझौला व्यवसायीहरुको साझा संस्था भएको बताउनुभयो । उहाँहरुले संस्थाले हरेक साना व्यवसायीहरुको आवाज मुखरित गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

महासंघले खेलेको भूमिकाको प्रशंसा गर्दे हालै सार्वजनिक बजेटमा महासंघले साना तथा मझौला व्यवसायीहरुका हितमा उठाएका मागहरूको सम्बोधन गरिएको भन्दै खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै महासंघ रुपन्देहीका अध्यक्ष टंकनाथ अधिकारीले २०४७ सालमा स्थापना भएको यो संस्था आम उद्योगी तथा व्यवसायीहरुको साझा संस्था भएको बताउँदै यसमा सानादेखि वार्षिक १५ करोड कारोबार गर्नेसम्मका व्यवसायीहरु समेटिने भएकाले महासंले सबैलाई समेटेर अगाडि बढ्ने बताउनुभयो । उहाँले तिलोत्तमा नगरपालिकाले यो भवन अस्थायी रूपमा कार्यालय सञ्चालनका लागि उपलब्ध गराएकोमा नगरप्रमुख, उपप्रमुख लगायत सबैमा हार्दिक धन्यवाद दिनुभयो । उहाँले सबैको साथ र सहयोग रहे यसै कार्यकालमा महासंघ रुपन्देहीको आफ्नै भवन बनाएर सोही भवनबाट महासंघको सम्पूर्ण प्रशासनिक कार्यहरू सञ्चालन गर्ने आफ्नो अठोट रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष ध्रुव कुमार धिताल, महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष नेत्र पाठक, तिलोत्तमा नगर अध्यक्ष ईश्वरी कार्की, महिला उद्यमी समिति रुपन्देही अध्यक्ष सुलोचना नेपाल, महिला उद्यमी समिति केन्द्रीय उपाध्यक्ष शान्ति शर्मा, नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष माया खनाल, महासंघ रुपन्देहीका मिडिया सल्लाहकार गौतम भुसाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासंघ रुपन्देही सचिव थानेश्वर चापागाईंले गर्नुभएको थियो ।