
आइतवार , आषाढ १, २०८२
बुटवल, १ असार । विश्व रक्तदाता दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज रुपन्देही र नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बुटवलस्थित ब्लड बैंकमा आयोजना गरिएको कार्यक्रममा ४६ जनाले रक्तदान गर्नुभएको थियो । कार्यक्रममा स्वयंसेवी रक्तदाता सहकारीले सहकार्य गरेको थियो ।
मानवअधिकार तथा शान्ति समाज रुपन्देही सभापति अर्जुन ज्ञवालीले उच्चतम मानवीय कार्य रक्तदानमा निरन्तर संलग्न रक्तदाताहरु सदैव सम्मानित भएको उल्लेख गर्नुभयो । उहाँले उदाहरणीय कार्यको अनुसरण गरेर रगतको अभावलाइ सधैको लागि हटाउनपर्नेमा जोड दिनुभयो । उहाँले मानवअधिकारको पहिलो शर्त मानिस स्वस्थ भएर बाँच्न पाउने अधिकार सुरक्षितको लागि रगत प्रयाप्त र निःशुल्क हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौवान क्षेत्रीले विश्व रक्तदाता दिवस सम्पूर्ण रक्तदाताहरुको उत्साह दिन भएको बताउनुभयो । उहाँले यस वर्ष २०२५ को नारा ‘रगत दिऔ, आशा जगाऔं : सबै मिलेर जीवन जोगाऔं’ तय गरिएको छ । यस नाराको अर्थ रक्तदान कार्यमा ऐक्यबद्धता जनाऔं । जीवन बचाउने अभियानमा सहभागी बनौं भन्ने रहेको छ र रगतको विकल्प रगत नै हो भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले रक्तदाताहरुको सहभागीमा स्थापना भएको स्वयंसेवी रक्तदाता सहकारीको सदस्यता लिन पनि सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रम संयोजक तुल्सा न्यौपानेले रक्तदान गर्ने सबैलाई आभार व्यक्त गर्दै महान कार्यमा सबैको सहकार्यले उर्जा मिलेको बताउनुभयो । उहाँले रगतको अभाव हुन नदिन आगामी दिनमा निरन्तर सहकार्यमा रक्तदानका कार्यक्रम सञ्चालन गर्न सकिने उल्लेख गर्नुभयो ।
शान्ति समाज रुपन्देहीका निवर्तमान सभापति कृष्ण भट्टराईलाई रगत संकलनको पोलिथिन ब्याग तथा रक्तदानको प्राविधिक सामग्री हस्तान्तरण गरेर रक्तदान कार्यक्रम सुरु भएको थियो । रक्तदाता शान्ति समाज रुपन्देहीका निवर्तमान सभापति कृष्ण भट्टराईले विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान गर्न पाउँदा खुशी व्यक्त गर्दै कार्यक्रम आयोजना गरेकोमा शान्ति समाज रुपन्देही र रक्तदाता समाज रुपन्देहीप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
शान्ति समाज रुपन्देहीका उपसभापति कृष्ण पाण्डे, केन्द्रिय सदस्य रत्ना कंडेल, सदस्य सागर भुसाल, रक्तदाताहरु, समाजसेवीहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन शान्ति समाज रुपन्देही सचिव लिलाधर लुइँटेलले गर्नुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij