
मंगलवार , आषाढ ३, २०८२
भैरहवा, ३ असार । लुम्बिनी प्रेस क्लब, रुपन्देहीको आयोजनामा एकदिने पत्रकारिता र एआई, मिडिया मनिटाइजेसन तथा सुरक्षा विषयक तालिम सोमबार भैरहवामा सम्पन्न भएको छ ।
क्लबमा आबद्ध सदस्यहरुको लागि तालिमको आयोजना गरिएको अध्यक्ष कमल रायमाझीले बताउनुभयो । उहाँले समयको माग अनुसार पत्रकारितामा पनि अपडेटेड हुनुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो । अध्यक्ष रायमाझीले सत्यतथ्यमा आधारित रहेर पत्रकारिता गर्नुपर्ने र पत्रकारितालाई अझ बलियो बनाउनुपर्ने बताउनुभयो ।
तालिमको उद्घाटन गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले लुम्बिनी प्रेस क्लबले महत्वपूर्ण विषयमा तालिमको आयोजना गरेको बताउनुभयो । उहाँले पेशामा नयाँपन ल्याउन र चुनौती सामना गर्न यो तालिम महत्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो ।
रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रदीप बहादुर क्षेत्रीले एआईको प्रयोगबारे जान्न जरुरी रहेको बताउनुभयो । लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले प्रविधिले धेरै फड्को मारिरहेको र सँगै चुनौति पनि बढेको बताउनुभयो ।
कार्यक्रम संयोजक एवं क्लबका सचिव शशि पन्थीको स्वागत तथा महासचिव प्रकाश न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिमको सहजीकरण प्रशिक्षकद्वय द्रोणाचार्य पराजुली र आर.के.. ढुंगानाले गर्नुभएको कोषाध्यक्ष विष्णु प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij