२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

रुपन्देही पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

शनिवार , आषाढ ७, २०८२

भैरहवा, ७ असार । रुपन्देहीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । विभिन्न उमेर समूहका ७४ हजार २ सय ५९ जना बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोपहरू प्राप्त गरेपछि रुपन्देही पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्लाको रूपमा घोषणा भएको हो ।

शुक्रबार जिल्ला पूर्ण खोप समन्वय समितिको सचिवालय रुपन्देहीले भैरहवामा आयोजना गरेको घोषणा सभामा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुभएको हो । घोषणा सभामा बोल्दै मन्त्री सारूले भौतिक विकाससँगै आर्थिक र सामाजिक क्षेत्रको विकास महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा उपचारात्मक पद्दतिमा बढी लगानी भइराख्दा मानसिक र सामाजिक स्वास्थ्यका विषय छुटिरहेको बताए । त्यसैले सामाजिक समृद्धि, सामाजिक र मानसिक स्वास्थ्य र आर्थिक  पाटो सँगै जोडिएर आउने उहाँको भनाइ थियो ।

उहाँले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन भइरहेको दावी गर्नुभयो । उहाँले स्वस्थ नागरिक बनाउन खोप अत्यन्तै महत्वपूर्ण रहेकोमा जोड दिनुभयो । मन्त्री सारुले पछिल्लो समय नसर्ने रोगको अवस्था भयावह बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै वेश हुने उहाँको भनाइ थियो । मन्त्री सारुले स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले प्रदेश सरकारले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताउनुभयो । 

त्यस्तै खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले जनघनत्वको हिसाबले ठुलो जिल्लाको रूपमा रहेको रुपन्देहीलाई पूर्ण खोप सुनिश्चित गर्न धेरै परिश्रम गर्नुपरेको बताउनुभयो ।

खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणि ज्ञवालीका अनुसार यही वैशाख ३० गते बुटवल उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएसँगै जिल्लालाई घोषणा गर्न सहज भएको हो । 

कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका स्वास्थ्य शिक्षा प्रशासक नेत्र लाल अर्याल, सियारी गाउँपालिका स्वास्थ्य शाखा प्रमख बुद्धि बहादुर घर्ती, सिद्धार्थ नगरपालिका वडा नम्बर ६ का महिला स्वास्थ्य स्वयंसेविका कमला मल्लिक कार्की लगायतले बोल्नुभएको थियो ।

IMG_7559.JPG

स्वास्थ्य कार्यलय रुपन्देहीका क्षय-कुष्ठ अधिकृत टिकाराम अधिकारी स्वागत तथा  टेक्निसियन अधिकृत खिमलाल पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।