२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

चिदिका–रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान, १०१ युनिट रगत संकलन

आइतवार , आषाढ ८, २०८२

बुटवल, ८ असार । अर्घाखाँचीको चिदिकाबाट रुपन्देही आइ बसोबास गर्नेहरुको संस्था चिदिका–रुपन्देही सम्पर्क समाजले बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समाजकी अध्यक्ष गीता ज्ञवालीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको उदघाटन रक्त सञ्चार केन्द्र प्रमुख राधा ज्ञवालीले गर्नुभएको थियो । 

त्यस अवसरमा उहाँले रक्तदान जस्तो मानवीय कामलाई समाजले अगाडि बढाएकोमा प्रशंसा गर्नुभयो । उहाँले सामाजिक क्षेत्रमा संस्थालाई अझ बढी सक्रिय बनाइराख्न आग्रह गर्नुभयो । 

रक्तदान कार्यक्रममा १०१ जनाले रक्तदान गरेको अध्यक्ष गीता ज्ञवालीले जानकारी दिनुभयो । उहाँले रक्तदान जस्तो मानवीय कार्यलाई समाजले प्रत्येक वर्ष जारी राखेको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो । उहाँले रचनात्मक क्रियाकलापमा समाजलाई सधै सक्रिय बनाइराख्न सबैको सहयोग र सुझाव आवश्यक रहेको पनि बताउनुभयो ।

कार्यक्रममा समाजका संस्थापक अध्यक्ष पुरुषोत्तम अर्याल, पूर्व अध्यक्षद्वय केशवराज पन्थी र ईश्वरी ज्ञवाली, सल्लाहकार विनिराम अधिकारी र सुरेन्द्र ज्ञवाली लगायतको पनि सहभागीता थियो । त्यस अवसरमा पूर्वअध्यक्ष ईश्वरी ज्ञवाली, सल्लाहकार बिनिराम अधिकारीलगायतले रक्तदानको महत्वमाथि प्रकाश पार्दै रक्तदान जस्तो मानवीय र पवित्र कामलाई समाजले हरेक वर्ष अघि बढाएको र यसबाट रगतको अभावमा बाँचिरहेकाहरुलाई राहत पुगेको बताउनुभयो । रक्तदान गर्नेहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । 

त्यस्तै सचिव हेमनाथ ज्ञवाली र कार्यक्रम संयोजक रामप्रसाद पन्थीले पनि रक्तदान कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिइने प्रतिवद्धता जनाउनुभयो । समाजले बिरामीको उपचारका लागि सहयोग पुर्याउने उद्देश्यले चिदिकाबासीलाई एम्बुलेन्स समेत प्रदान गरिसकेको छ ।